थानकोट र भक्तपुरबाट भित्रने तरकारीमा बढी विषादी

साउन १३, काठमाडौं – भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

आव ०७३-७४ को अध्ययनले थानकोट र भक्तपुरको जगाती नाकाबाट भित्रने तरकारीमा विषादीको मात्रा बढी देखाएको छ। बालाजु नाकाबाट भित्रने तरकारीमा विषादी नभेटिएको निर्देशनालयले जानकारी दिएको छ। थानकोटबाट भित्रने ४६ तरकारीको परीक्षण गर्दा दुईवटा र जगातीबाट भित्रने ५० तरकारीको परीक्षण गर्दा तीन प्रकारमा विषादी भेटिएको छ। बालाजुबाट भित्रने २५ तरकारीमा परीक्षण गर्दा विषादी देखिएन।

स्नायुमा असर गर्ने विषादी : कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी दिनेशबाबु तिवारीका अनुसार स्नायु प्रणालीमा असर गर्ने अर्गानो फस्फेट र कार्बोनेटनामक दुई विषादीको प्रयोग धेरै देखिएको छ। किसानले चाँडो तरकारी फलाउन, ताजा देखाउन यस्ता विषादी प्रयोग गरेका हुन्। दुवै विषादी प्रयोग गर्न बन्देज छ। किसानले विषादी प्रयोग गरेको कति समयमा तरकारी टिप्ने भनेर ख्याल नगर्दा पनि बिक्रीका लागि बजारमा आएका तरकारीमा विषादीको मात्रा धेरै भेटिएको उनले बताए।

गोलभेँडा र काउलीमा झन धेरै विषादी

आव ०७३-७४ मा कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयले गरेको परीक्षणमा गोलभेँडा र काउलीमा सबैभन्दा धेरै विषादी रहने देखाएको छ। ३ सय ९४ पटक गोलभेँडा र २ सय २७ पटक काउली परीक्षण गर्दा समान आठपटक विषादी भेटिएको छ। त्यस्तै, पाँचपटक गोलभेँडा र ६ पटक काउलीमा विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको छ। ३५ देखि ४५ प्रतिशतसम्म विषादी रहेको तरकारीलाई दुई–तीन दिन राखेर उपभोग गर्दा विषादीको मात्रा नरहने निर्देशनालयले जनाएको छ। त्यस्तै, काँक्रोमा एक, तितेकरेलामा तीन र बोडीमा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो।

कृषि मन्त्रालयमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत निर्देशनालयको सहकार्यमा गत मंसिरदेखि वैशाखसम्म काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, धनुषा, दोलखा, नुवकोट, धादिङ, चितवन, मोरङ, पर्सा, भैरहवा र भारतबाट आयातीत तरकारीमा विषादीको मात्रा परीक्षण गरेको थियो। विषादीको मात्रा अधिकतम ४५ प्रतिशतसम्म हुनुपर्नेमा काउलीमा काभ्रेबाट आयातीतमा ६६.८५ प्रतिशत र ५२.४२ प्रतिशत तथा धादिङबाट आयातीतमा ६३.८२ प्रतिशत विषादी भेटिएको खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले जानकारी दिए।

त्यस्तै, सिन्धुपाल्चोकबाट आयातीत गोलभेँडामा ५७.५६ प्रतिशत र भारतबाट आयातीतमा ४६.५५ प्रतिशत विषादी भेटिएको उनले जानकारी दिए। निर्देशनालयले आव ०७२-७३ मा परीक्षण गर्दा पनि गोलभेँडामा सबैभन्दा बढी चारपटक र काउलीमा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो। त्यस्तै, भेँडेखुर्सानीमा दुई, काँक्रोमा एक र भन्टामा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो। आव ०७१-७२ मा बोडीमा सबैभन्दा धेरै तीनपटक र गोलभेँडामा एकपटक विषादी हालेको देखिएको थियो।