शक्तिको आडले आकर्षक ठाउँमा ‘काज’

 

साउन १३, काठमाडौं – प्रहरी प्रधान कार्यालयले विभिन्न प्रहरी कर्मचारीको सामूहिक सरुवा गर्ने तयारी गरिरहेका बेला प्रहरी निरीक्षक वसन्त शर्माले सुटुक्क पोखरा लेकसाइडको बैदाम वडा प्रहरी कार्यालयमा आफ्नो सरुवा गराए। तर, प्रधान कार्यालयले सरुवा गरिनसक्दै गृहमन्त्री जनार्दन शर्माका भतिजा शर्माले ‘लोभलाग्दो’ ठाउँमा बाजी मारे। यो खबर लोकेन्द्र प्रसाईले आजको अन्नपूर्णमा लेखेका छन्।

गृहमन्त्री शर्माले सरुवा तथा बढुवामा शक्तिकेन्द्र धाउने प्रहरी कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिइरहँदा उनले आफ्नै प्रभावमा भतिजाको काज सरुवा गराएका हुन्। आकर्षक ठाउँमा सरुवाका लागि प्रहरी कर्मचारी महानिरीक्षकदेखि गृहमन्त्री र राजनीतिक दलका नेतालगायत शक्तिकेन्द्र चाहार्ने गरेका छन्। ‘काम गरेर देखाउन सक्ने र सबैले देख्न सक्ने ठाउँमा प्रहरी सरुवा चाहन्छन्। यसैले शक्तिकेन्द्र धाउने परम्परा बसेको हो’, प्रधान कार्यालयका एक वरिष्ठ अधिकृत भन्छन्।

ललितपुर प्रहरी परिसरअन्तर्गत नगर प्रहरीमा दरबन्दी रहेका शर्मा ‘काज’मा बैदाम पुगेका हुन्। निकै आकर्षक मानिने यो इलाका प्रहरी कार्यालयको इन्चार्ज नै प्रहरी निरीक्षक हुने भएकाले त्यहाँको इन्चार्ज बन्न दर्जनौं प्रहरी निरीक्षक आकांक्षी थिए। १६ महिनाअघि बैदाम प्रहरी कार्यालयका इन्चार्ज भएका प्रहरी निरीक्षक मोहनमणि अधिकारीलाई भने काजमा महानगरीय अपराध महाशाखा ल्याइँदै छ।

शर्मा र अधिकारी दुवैको यसपटक सरुवा हुने निश्चितप्रायः थियो। नियमावलीअनुसार विशेष परिस्थितिबाहेक प्रहरी कर्मचारीको एक ठाउँको दरबन्दी एक वर्ष पुगेपछि सरुवा हुन्छ। कमाइका दृष्टिले आकर्षक मानिने जिल्ला, वृत्त, इलाका तथा वडा प्रहरी कार्यालय हुन्।

नियमावलीमा प्रहरी कर्मचारीको सरुवा गर्दा शैक्षिक योग्यता, तालिमस्तर, ज्ञान र सीप, कार्यदक्षता, शारीरिक क्षमता तथा व्यक्तिगत चाहना र रुचिमा ध्यान दिइने उल्लेख छ। यस्तै, अतिरिक्त महानिरीक्षकलाई सरकारले, वरिष्ठ प्रहरी उपरीक्षक र नायब महानिरीक्षकलाई गृहमन्त्रीले, प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्म महानिरीक्षकले सरुवा गर्ने अधिकार छ। एआईजीले आफ्नो क्षेत्र (हाल विकास क्षेत्र)भित्र प्रहरी निरीक्षक सम्मको सरुवा गर्ने अधिकार हुन्छ।

‘प्रधान कार्यालयले अब सरुवा गर्दा जो जहाँ काजमा छ, उनीहरूको दरबन्दी पनि त्यहीं हुने सम्भावना बढी हुन्छ। त्यसैले यो हेर्दा काजजस्तो देखिए पनि दरबन्दीसरहको सरुवा हो’, ती प्रहरी अधिकृत भन्छन्। समयमा सरुवा नहुँदा प्रहरीमा यतिबेला हजारौं कर्मचारी काजमा छन्। दोलखा प्रहरी प्रमुख डीएसपी रामेश्वर कार्की, संखुवासभा प्रहरी प्रमुख डीएसपी सुवास खड्का केही महिनायता काजमै छन्। सप्तरी र पर्साका जिल्ला प्रहरी प्रमुख विवादमा तानिएपछि त्यहाँ पनि काजमा एसपी खटाइएको छ।

‘काजमा जाने एउटा बाध्यता हो भने अर्को रहर। ठाउँअनुसार काजमा जानेको रहर र बाध्यता निर्भर हुन्छ’, केही समयअघि उपत्यकामै काजमा खटिएका एक प्रहरी अधिकृत भन्छन्। नियमावलीमा प्रहरी कर्मचारीलाई सामान्यतया काजमा नखटाइने र प्रधान कार्यालयले विशेष परिस्थितिमा काज खटाउन काजसम्बन्धी छुट्टै मापदण्ड बनाई लागू गर्न सक्ने उल्लेख छ।

प्रहरीका केन्द्रीय प्रवक्ता पुष्कर कार्कीले संगठनमा काजको संख्या घटिरहेको बताए। ‘काजको संख्या घटाउँदै लैजाने संगठनको नीति हो। हिजोभन्दा आज काजको संख्या धेरै घटेको छ। आवश्यकता र परिस्थितिअनुसार काज कम हुँदै जानेछ’, प्रहरीका नवनियुक्त प्रवक्ता कार्कीले भने।