नवनियुक्त मन्त्री को कस्ता छन ?

 

साउन १२, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री भएको ५० दिनपछि देउवाले थप १९ जनालाई बुधबार मन्त्री नियुक्त गर्नुभएको हो ।
बुधबार कांग्रेसबाट १० जना, माओवादीबाट ६, फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शथप ग्रहण गराउनुभएको छ । १९ जना थपिएसँगै मन्त्रीपरिषद् २७ सदस्यीय भएको छ । बुधबार थपिएका १९ मध्ये १५ जना पहिलोपटक मन्त्री भएका हुन् । यसअघि कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीन जना र नेपाल फोरम लोकतान्त्रिकबाट एक जना नियुक्त हुनुभएको थियो ।
कांग्रेसबाट कानुनमन्त्री बनेका यज्ञबहादुर थापा कास्की निर्वाचन क्षेत्र नम्बर एकबाट सांसद चुनिनु भएको हो । कांग्रेसका पुराना नेता मानिने यादव काँस्कीको कांग्रेस जिल्ला सभापति हुनुभएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले डोटी १ का सांसद हुनुहुन्छ । गणित विषयमा स्नातकोत्तर गरेका बलाएर स्कूल पढ्दादेखि नै नेविसंघमा आवद्ध हुनुहुन्थ्यो । पञ्चायतकालमा पटक गिरफ्तारीमा परेका उहाँले साढे ४ वर्ष जेल जीवन विताएका उहाँ कांग्रेसको डोटी जिल्ला सभापति समेत भइसक्नुभएको छ ।
सूचना तथा सञ्चार मन्त्री बनेका मोहनबहादुर बस्नेत सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका खुमबहादुर खड्को कोटाबाट मन्त्री बन्नुभएको हो । यसअघि स्वास्थ्य राज्यमन्त्री भएका बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट २०७० सालको संविधानसभा चुनावमा निर्वाचित हुनुभएको हो । सिन्धुपाल्चोको कांग्रेस जिल्लासभापति समते भइसकेका बस्नेतलाई कांग्रेसभित्र हक्की स्वभावका नेताका रुपमा लिइन्छ ।
सिँचाइ मन्त्री सञ्जय गौतम पनि नेपाली कांग्रेस बर्दियाका जिल्ला सभापति हुनुहुन्छ । बर्दिया २ बाट निर्वाचित गौतमले २०३६ आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गर्नुभएको हो ।
वाणिज्यमन्त्री मीन विश्कर्मा समानुपातिकतर्फबाट सभासद बन्नुभएको हो । कांग्रेसभित्र सभापति देउवाको अति विश्वास पात्र मानिने विश्वकर्मा दलित संघको सभापतिसमेत हुनुहुन्छ । केही समयअघि तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीलाई महाअभियोग लगाउन कांग्रेसका तर्फबाट मुख्य भूमिका विश्वकर्माले नै खेल्नु भएको थियो । विश्वकर्माको यो कदमलाई लिएर पार्टीभित्र र बाहिर चर्को आलोचना भएको थियो ।
गरिबी निवारण र सहकारी मन्त्री अम्बिका बस्नेतले कांग्रेसबाट मन्त्री हुने एक मात्र महिला हुनुहन्छ । समानुपाति कोटाबाट संविधानसभा सदस्य बनेकी बस्नेत महिला संघको केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँ काठमाडौंको स्थायी बासिन्दा हो ।
रक्षामन्त्री भीमसेनदास प्रधान २०७० सालको संविधानसभाको चुनावमा काठमाडौं ६ बाट निर्वाचित हुनुभएको छ । काठमाडौंका पूर्व जिल्लासभापति समेत रहेका प्रधान कृष्णप्रसाद सिटौलाको गुटबाट मन्त्री बन्नुभएको हो । काठमाडौंको कांग्रेस राजनीतिमा प्रधानको राम्रो पकड रहेको छ ।
कृषिमन्त्री रामकृष्ण यादव पनि पहिलोपटक मन्त्री बन्नुभएको हो । उहाँ संसदको सबैभन्दा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति भइसक्नुभएको छ । स्नातकोत्तर उत्तीर्ण यादवले २०२९ सालदेखि नेपाल विद्याथी संघबाट राजनीति सुरु गर्नुभएको हो । संविधानसभा निर्वाचनमा धनुषा २ बाट निर्वाति भएका यादव धनुषा कांग्रेस जिल्ला सभापति समेत हुनुुभएको थियो ।
युवा तथा खेलकुदमन्त्री राजन केसी, २०७० सालको संविधानसभाको चुनावमा काठमाडौं १० बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हारएपछि चर्चित हुनु भएको थियो । विद्यार्थी राजनीतिबाट आएका केसी ०४९ मा भएको स्थानीय चुनावमा चोभार वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । २०५४ को स्थानीय निकाय चुनावमा उहाँ कीर्तिपुर नगरपालिका वडा नम्वर १३ बाट निर्वाचित हुनुभएको थियो ।
खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव समानुपातिक कोटाबाट सभासद हुनुभएको हो । तरुण दलको अध्यक्ष हुँदै यादव सभासद बन्नुभएको थियो । यादव तराइ मधेसबाट प्रतिनिधित्व गर्ने सक्रिय कांग्रेस सांसद हुनुहुन्छ ।
माओवादीले बुधबार मन्त्री बनाएका ६ मध्ये पाँच जना प्रत्यक्ष निर्वाचित सांसद हुन् भने आशा कोइराला मात्र समानुपातिकतर्फकी सांसद हुनुहुन्छ । माओवादीले बुधबार सरकारमा पठाएका गिरिराजमणि पोखरेल बाहेक सबै नयाँ अनुहारका छन् । माओवादीले जनयुद्धमा प्रत्यक्ष रुपमा सहभागी भएका लडाकुहरुलाई मन्त्रीमा प्राथामिकता दिएको छ । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल चौथोपटक मन्त्री बन्नुभएको हो । यसअघि उहाँले स्वाथ्य र शिक्षा मन्त्रालयको जिम्मेवारी लिइसक्नुभएको छ । माओवादीमा नारायणकाजी श्रेष्ठ खेमाका पोखरेले माओवादीभित्र पटक पटक अवसर पाउने थोरै नेतामध्ये पर्नुहुन्छ । उहाँ गएको संविधानसभा निर्वाचनमा महोत्तरी १ बाट निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, ऊर्जा मन्त्री नयुक्त महिन्द्र शाही पहिलोटक मन्त्री बन्नुभएको हो । माओवादी युद्धमा कमाण्डरको भूमिका निर्वाह गरेका शाही कालिकोट १ बाट संविधानसभाको चुनावमा निर्वाचित हुनुभएको छ । अध्यक्ष प्रचण्डलाई जानकारी नै नदिइ तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि शाही एकाएक चर्चित बन्नुभएको थियो ।
माओवादीबाट सामान्य प्रशासन मन्त्री बनेका टेकबहादुर बस्नेत पनि जनयुद्धमा कमाण्डरको भूमिकामा हुनुहुन्थ्यो । माओवादीभित्र समरसिंह नामले चिनिने बस्नेत सल्यान १ बाट निर्वाचित हुनुभएको थियो ।
आपूर्ति मन्त्री शिवकुमार मण्डल पनि पहिलोपटक मन्त्री बन्नुभएको हो । मोरङ ४ बाट निर्वाचित मण्डल पनि जनयुद्धमा प्रत्यक्ष संलग्न भएका माओवादी सांसद हुनुहुन्छ ।त्यस्तै माओवादीले सन्तकुमार चौधरीलाई थारु समुदायबाट मन्त्री बनाएको छ । चौधरी समानुपातिक कोटाबाट मन्त्री बन्नुभएको हो ।
माओवादीबाट मन्त्री बन्ने गोरखाकी आशा खनाल एक मात्र समानुपातिक सभासद हुनुहुन्छ । अरु सबै प्रत्यक्षतर्फबाट चुनाव जितको सांसदलाई माओवादीले मन्त्री बनाए पनि खनाल भने समानुपातिक सांसद हुँदै मन्त्री बन्नुभएको हो ।
नेपाल फोरम लोकतान्त्रिकबाट पर्यटन मन्त्री बनेका जितेन्द्र नारायण देव समानुपातिक कोटाबाट सभासद बन्नुभएको थियो । यसअघको प्रचण्ड नेतृत्वको सरकारमा पनि पर्यटन मन्त्री रहेका देवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिनुभएको हो । फेरि मन्त्रीमा निरन्तरता पाउने निश्चित भएपछि जितेन्द्र देवले मन्त्री निवास छाड्नु भएको छैन । यस्तै फोरमबाट भूमिसुधार मन्त्री बन्नुभएका गोपाल दहित पनि अघिल्लो सरकारमा सहभागी हुनुहुन्थ्यो ।
यस्तै नेकपा संयुक्तकी मिथिला चौधरीले वातावरण मन्त्रालय पाउनुभएको छ । सप्तरीका चौधरी समानुपातिक सभासद हुनुहुन्छ ।