निर्वाचन परिणाम ‘अनपेक्षित’, अन्तर्घात गर्नेलाई कारबाही: कांग्रेस

 

साउन १० ,काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचन परिणामलाई ‘अनपेक्षित’ भन्दै विभिन्न स्थानमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।

तीन दिनसम्म बसेको कांग्रेस केन्द्रीय कमिटी बैठकले सोमबार यस्तो निर्णय गरेको हो।

निर्वाचनमा अपेक्षित नतिजा नअाए पनि लोकतान्त्रिक प्रक्रिया स्वीकार्दै मतदान गर्ने जनतालाई बैठकले धन्यवाद दिएको र विभिन्न स्थानमा अन्तर्घात गर्नेहरूलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पाैडेलले सेतोपाटीलाई जानकारी दिए।

बैठक समापन गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्वाचनमा घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

बैठकले संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गर्दै उक्त विधेयक पारित गर्न सबै दललाई अाग्रह गरेको छ। माअाेवादी र मधेसकेन्द्रित दलसँग भएको सहमति कार्यान्वयन गर्ने पनि बैठकले प्रतिबद्धता जनाएको छ।

बैठकमा सभापति देउवाले पदाधिकारी चयनमा सघाउन रामचन्द्र पौडेललाई अाग्रह गरेका थिए। सहमतिमा नअाए मतदानबाट भए पनि टुंगो लगाउने उनले बताए। बैठकमा सहभागी स्रोतका अनुसार उनले सरकार छिट्टै विस्तार गर्ने जानकारी पनि दिएका थिए।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले भने अाफू पार्टीका लागि त्याग गर्न तयार रहेको भन्दै देउवालाई पनि त्याग गर्न अाग्रह गरे।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले माअाेवादीसँग सहकार्य जरुरी रहेको बताइरहेका बेला महामन्त्री सशांक कोइरालाले कम्युनिस्टसँगको सहकार्यबारे सोच्नुपर्ने बताएका थिए। ‘बिपीले पनि कम्युनिस्टसँग सहकार्य गर्न हुँदैन भन्नुहुन्थ्यो। ०४६ सालमा सहकार्य गर्नाले ०१५ सालमा चार सिट भएको कम्युनिस्टले ०४८ सालमा ६९ सिट ल्याए,’ उनले भने, ‘कम्युनिस्टसँग सहकार्य गर्दा सधैं उनीहरूलाई नै फाइदा भएको छ।’

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी संस्थागत ढंगले नचलेको आरोप लगाउँदै पदाधिकारी चयन नहुनुको दोष देउवालाई नै जाने बताए। ‘तपाईंले विगतमा सुशील कोइरालालाई जे दोष दिनुभएको थियो, अाज त्यही दोष तपाईंलाई किन लागिरहेको छ?’ उनले प्रश्न गरे।

बैठकमा कृष्ण सिटौलाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाहीका नाउँमा जथाभाबी गर्न थाले त्यसले पार्टीलाई झनै घाटा हुनसक्ने बताए। प्रत्यक्ष संलग्नलाई कारबाही र अप्रत्यक्ष रूपमा संलग्नलाई सचेत मात्रै गराउनुपर्ने उनको राय थियो।

विमलेन्द्र निधिले भने दुई नम्बर प्रदेशका १२७ तहमध्ये सय सिट जित्न सकिने बताए।