भ्यु टावरको काम अन्तिम चरणमा

असार १७ । स्याङ्जा चापाकोटको बायडाँडामा निर्माण भईरहेको भ्यु टावरको काम अन्तिम चरणमा पुगेको छ । चापाकोट नगरपालिका १० मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत क्षेत्रीय कार्यालय पोखराको क्रमागत योजनामा यो स्तम्भ निर्माण भएको हो । स्थानीयवासीले नगरपालिकाको नाममा एक रोपनी १३ आना जग्गा निःशुल्क उपलब्ध गराएपछि निर्माण थालिएको धनसा पर्यटकीयस्थल निर्माण समितिका सचिव गोपी भट्टराईले जानकारी दिनुभयो । अहिलेसम्म भ्यु टावरको भित्रि काम सकिएको उहाँले बताउनु भयो । चार तल्ला अग्लो यो भ्युटावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र रेलिङ लगाउने काम भईरहेको समीतिका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनु भएको छ । क्षेत्रलाई तारबार गर्दै वनभोजस्थल र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने तयारी भईरहेको समेत उहाँले बताउनु भयो । स्तम्भ निर्माणका लागि क्षेत्रीय पर्यटन कार्यालय पोखराबाट पहिलो र दास्रो किस्ताको ४१ लख रुपैयाँको लागतमा निर्माण कार्य भईरहेको बताईएको छ ।

स्तम्भबाट चापाकोट नगर तथा पाल्पाको रामपुर नगरपालिकाका सबै भूभागसहित नवलपरासी, तनहुँ, गुल्मी र पर्वतका केही भेगको दृश्यावलोकन गर्न सकिन्छ । चापाकोट नगरपालिकाले यो पर्यटकीयस्थलसम्म पुग्नका लागि पदमार्ग निर्माणमा  तीन लाख रुपैयाँ लगानी गरेको छ ।