उदयपुरका ४ वटै नगरमा कांग्रेसको अग्रता

 

असार १७, काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उदयपुरका ४ वटै नगरपािलकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सदरमुकाम त्रियुगा नगपालिकामा पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेका मेयर प्रत्यासी बसन्त बस्नेतले २ हजार ७ मत पाएका छन् । एमालेका बलदेव चौधरीले १ हजार ९ सय ५७ र माओवादीका किरण राईले १ हजार ९ सय १७ ले पछ्याइरहेका छन् ।

अर्को कटारी नगरपालिकामा कांग्रेसका ज्ञानेन्द्रमानसिंह राउतले २ हजार ८ सय १८ मत पाएका छन् । माओवादी केन्द्रका केपी बरालले २ हजार ६ सय २० ले दोस्रो स्थान र  एमालेका ज्ञानेन्द्र श्रेष्ठले २ हजार ५ सय १३ मत पाएर तेस्रो भइरहेका छन् । त्यहाँ उपमेयरमा भने एमालेकी भिमकुमारी राउतले २ हजार ७ सय ७ ल्याएर अग्रता लिएकी छिन् । उपमा कांग्रेसले २ हजार ६ सय २० र माकेले २ हजार ५ सय ४७ पाएका छन् ।

बेलका नगरपालिकामा कांग्रेसका अशोक कार्कीले १ हजार ८ सय ५० ले अग्रता कायम राखेका छन् । एमालेका दुर्गाकुमार थापाले १ हजार १ सय ४६ र माओवादी केन्द्रका रमण भट्टराईले ६ सय ४९ मत पाएका छन् । त्यसैगरी चौदण्डीगढी नगरपालिकामा पनि कांग्रेसले अग्रता कायम राखेको छ । त्यहाँ कांग्रेसका खगेन्द्र राईले १ हजार १ सय २५ मतले अग्रता दिएका छन् भने एमालेका नरेन्द्र राउतले १ हजार ४९ मतले पछ्याउँदैछन् । माओवादी केन्द्रका कुमारसिंह कार्कीले ७ सय ९० मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिकातर्फ ताप्लीको मत परिणाम अघिल्लो दिन नै आइसकेको छ । त्यहाँ एमालेका उद्धवसिंह थापा र कमला राई अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । ५ वडामध्ये १, २ र ३ को वडाध्यक्षमा एमाले र ४ र ५ नं. मा माओवादी केन्द्रले प्यानलसहित वडाध्य जितेको छ ।

उदयपुरगढी र सुनकोसीको मत परिणाम अन्तिम चरणमा पुगेको छ । सुनकोसीको ३ नं. वडाको गणना सुरु भईसकेको छ भने माओवादी केन्द्रका मेजर राईले १ हजार १ सय १० मत ल्याएर अग्रता लिएका छन् । ४६ मतले पछ्याउँदै गरेका कांग्रेसका पुष्पलाल राईले १ हजार ५६ मत ल्याएका छन् भने एमालेका भलबहादुर राईले ९ सय ४९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अधिकृत प्रकाशजंग कार्कीका अनुसार सुनकोसीको मत परिणाम साँझसम्ममा सार्वजनिक गरिसक्ने अनुमान छ ।

उदयपुरगढी गाँउपालिकामा एमालेले फराकिलो अन्तरले अग्रता लिएको छ । एमालेका अध्यक्ष उम्मेद्वार मानबहादुर मगरले ४ हजार ७८ मत पाएका छन् । २ वटा वडाको मत परिणामको अन्तिम चरणमा पुगिसकेका बेला कांग्रेसका जितबहादुर खडकाले ३ हजार ६ सय ७५ मत पाएका छन् । माओवादी केन्द्रका देव गिरीको मत १ हजार ६ सय ११ मात्र पुगेको छ । उपाध्यक्षमा पनि एमालेकै अग्रता कायम छ । एमालेले ३ हजार ७ सय ४०, कांग्रेसले २ हजार ७ सय ९ र माकेले १ हजार ७ सय ५० पाएको छ ।

रौतामाई गाउँपालिकामा पनि एमालेको अग्रता कायमै छ । शुक्रबार स्थगित भएको गणना शनिबार विहानदेखि सुरु भए पनि पछिल्लो विवरण प्राप्त हुन सकेको छैन । अघिल्लो दिनको परिणाम अनुसार एमालेका गजेन्द्र खड्काले १ हजार २ सय ७ मत पाएर माकेका वीरेन्द्र मगरभन्दा १ सय ४ मतले अग्रता कायम राखेका छन् । माकेका मगरले १ हजार १ सय ३ र कांग्रेसका भुपेन्द्र थापाले ९ सय ७६ मत पाएको निर्वाचन कार्यालयको भनाई छ ।

साभार— नागरिक दैनिक