पूर्वी पहाडी जिल्लामा एमालेलाई चुनौती दिँदै कांग्रेसको अग्रता

 

असार १६,काठमाडौँ – दोस्रो संविधान सभाको निर्वाचनमा स्पष्ट बहुमत प्रदर्शन गरेको नेकपा एमालेलाई पूर्वका पहाडी जिल्लामा आफ्नो शाख जोगाउन हम्मेहम्मे देखिएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पूर्वका ९ वटा पहाडी जिल्लाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसको अग्रता देखिएको छ।

दोस्रो संविधान सभाको निर्वाचनमा एमालेले पूर्वी पहाडी जिल्लाहरुबाट १२ सिट जितेको थियो। तर, स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनामा ९ जिल्लाको २१ नगरपालिकामध्ये कांग्रेसले १३ स्थानमा अग्रता बनाएको छ। एमालेको भने ८ नगरपालिकामा पकड देखिएको छ।

निर्वाचन अधिकृतहरुले विहान ६ बजेसम्म दिएको रिपोर्टको आधारमा कांग्रेसले पाँचथरको फिदिम नगरपालिका, इलामको ४ वटै नगरपालिका, संखुवासभाको ५ मध्ये २ नगरपालिका, तेह्रथुमको दुवै नगरपालिका, भोजपुरको दुवै नगरपालिका, खोटाङको एक नगरपालिका र ओखलढुंगाको एक नगरपालिकामा अग्रता बनाएको छ।

एमालेले भने ताप्लेजुङको फुङ्लिङ नगरपालिका, संखुवासभाको ३ वटा नगरपालिका, धनकुटाको तीन वटै नगरपालिका, खोटाङको एक नगरपालिकामा अग्रता बनाएको छ।