मतगणना फेरि पनि सुस्त, मुख्य नगरमा चरम ढिलाई, तीन स्थाको मात्र परिणाम

 
असार १६,काठमाडौँ – स्थानीय तह दोश्रो चरणको निर्वाचनको मतगणना पनि सुस्त भएको छ। यसअघि पहिलो चरणको निर्वाचनमा मतगणना दुई सातासम्म चलेको थियो।

निर्वाचन आयोगले पहिलो चरणमा सुस्तताको आलोचना भएपछि दोश्रो चरणमा गति बढाउने जनाएको थियो। तर दोश्रो चरणमा पनि मतगणनाले गति लिन सकेको छैन।

३ सय ३४ स्थानीय तह मध्ये अधिकांशमा मतगणना सुरु भएको छ। तर गणनाको गति भने कुछवा शैलीकै छ। १६ स्थानीय तह रहेको रुपन्देहीमा १५ गते बिहानदेखि नै गणना सुरु भएपनि कुनैपनि तहको मतगणना तीन हजारसम्म समेत पुगेको छैन।

बर्षाका बाबजुद ७३ प्रतिशत मतदाता मतदानमा उत्साहपूर्वक सहभागि भएका थिए। मतपेटिका संकलन छिट्टै भएको थियो भने निर्वाचन आयोगले ३०७ स्थानमा गणना जारी रहेको सूचना दिएको थियो। तर गणना सुरु भएको २४ घण्टा बित्दा समेत परिणाम आउने दिशामा अगाडी बढेको छैन।

निर्वाचन अधिकृतहरुले गणनामा समय लाग्नुको मुख्य कारण मत गन्ने स्थान अभाव, गणना गर्ने जनशक्ति अभाव र गणनामा आउनसक्ने दोहोरो मापदण्डलाई कारण देखाएका छन्।

दोश्रो चरणमा हालसम्म तीन गाउँपालिकाको मात्र गणना सकिएको छ। मुख्य मुख्य चासोका स्थानहरुमा दुई हजार मत समेत गणना भएको छैन।

विराटनगर महानगर र ७ उपमहानगरमा गणनाले गति लिन सकेको छैन। विराटनगरमा कांग्रेसले अग्रता लिइरहेको छ। तर उसले प्राप्त गरेको मत केवल १०१ छ।

त्यस्तै इटहरीमा पनि कांग्रेसले अग्रता लिएको छ। उसले प्राप्त गरेको मत केवल ४३१ छ। धरान उपमहानगरमा पनि १४१ मतकासाथ कांग्रेस अगाडी छ। बुटवलमा माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेस उम्मेद्वारले १२४२ मत पाएका छन्। बुटवलमा अन्य स्थानको तुलनामा गणना धेरै भएको छ। तर गति भने उस्तै छ।

तुलसीपुरमा ९८४ मतका साथ एमाले अगाडि छ। त्यस्तै घोराहीमा पनि ७९२ मतका साथ एमाले नै अगाडी छ। उपमहानगरपालिकाहरुमा ५० हजार भन्दा धेरै मतगणना गर्नुपर्ने छ। त्यस्तै नेपालगञ्जमा १४२ मतका साथ एमाले अगाडि छ। त्यहाँ पनि गणनाले गति लिएको छैन।

धनगढी उपमहानगरपालिकामा पनि ४६७ मतका साथ कांग्रेसले अग्रता लिइरहेको छ। मतगणनाको गति त्यहाँ पनि सुस्त छ।

यी हुन् गणना सकिएका स्थानीय तह

बझाङको काँडा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र धामीले ३ सय ९४ र उपाध्यक्षमा कांग्रेसकै कल्पना बोहरा ३ सय ९४ मतसहित विजयी भएका छन्।

यसैगरी बझाङकै मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत २ हजार १ सय ४२ र उपाध्यक्षमा भगवती कुमारी बोहराले २ हजार १ सय ८० मत ल्याई विजयी भएका छन्।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत अध्यक्षमा विजयी भएका हुन्। यस्तै उपाध्यक्षमा माओवादीकै प्रमिला बस्नेत विजयी भएकी छिन्।