बृद्धबृद्धाकालागि घर घरमा स्वास्थ्य सेवा शुरु


असार १५, काठमाण्डौ । काठमाण्डौँ महानगरपालिकाले बृद्धबृद्धाका लागि घर घरमा स्वास्थ्य सेवा शुरु गरेको छ । महानगरपालिकाले आजदेखि ८८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा शुरु गरेको हो । महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास र उनीहरुको रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो अभियान सुरु गरेको हो ।
महानगरको ३२ वटै वडालाई आठ वटा क्षेत्रमा विभाजन गरी आज पहिलो नन्दी रात्रि मावि, वडा नं १ नक्साल क्षेत्रबाट ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवम् नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो । अठासी वर्ष उमेर पूरा भएका महानगरका ५९६ व्यक्तिको घरमा महानगरका प्रतिनिधि पुग्नेछन् । यसरी घरमा जाने टोलीमा चिकित्सक, स्टाफ नर्स, अनमी र अहेब एक÷एक जना हुनेछन् ।
आज पहिलो दिन वडा नं १ मा छ जना वृद्धालाई १२ हजार रुपैयाँ महानगर भत्ता वितरण गर्नाका साथै स्वास्थ्य परीक्षण गरिएको छ । यो अभियान सुरुसँगै अब नियमित रुपमा महानगरका ज्येष्ठ नागरिकले उपचार पाउने छन् । महानगरको यही असार ६ गतेको दोस्रो कार्यपालिका बैठकले अभियान सुरु गर्ने निर्णय गरेको थियो ।