आज असार १५ अर्थात धान दिवस

 

असार १५, काठमाडौं – आज असार १५ अर्थात धान दिवस । धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइँदैछ । विषेशगरि नेपालि किसानहरुले मानो रोपेर मूरी फलाउने महिनाको रुपमा लिइने असारको १५ गते नेपालीले दहीच्यूरा खाएर खुसियाली मनाउने परम्परा पनि छ ।
धान रोपाइँको चटारोमा रहेका किसानले खेतमै दहीच्यूरा खाएर रोपाइँ गर्ने चलन छ । आयुर्वेदमा दहीलाई पाचन प्रणाली सक्रिय गराउने खाद्यवस्तुका रूपमा लिइएको छ । ज्योतिष एवं संस्कृतिका जानकार डा. सुनिल सिटौलाका अनुसार मौसम, पर्यावरण र वातावरण अनुकूलको भोजन गर्ने परम्परा रहेकाले वर्षाद्को बेलामा दहीच्यूरा भोजन गर्ने चलन चलेको हो । भकारीमा राखिएका अन्न सकिएर अन्नको जोहो हुन नसक्ने यस महिनामा धान कुटेर बनाइएको च्यूरा खाने चलन चलेको उहाँको भनाइ छ । वर्षातमा आकाशेपानीले ढाडिएको शरीरलाई ऊर्जामय बनाउन दहीच्यूरा खानु स्वास्थवद्र्धक हुने वैद्य सुवर्ण वैद्यले बताउनुभयो ।