मतदाता परिचयपत्र नहुनेले पनि मतदान गर्न सक्ने

असार १३, काठमाण्डौ निर्वाचन आयोगले मतदाता परिचयपत्र नहुनेले पनि मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ । भोली स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाइएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले फोटोसहितको मतदाता नामावलीमा नाम समोवश भएका मतदाताहरुको लागि यस्तो व्यवस्थ गर्ने निर्णय गरेको हो । मतदाताले नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र या सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार बनाई मतदान गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।
यस्तै बर्षाले मतदानमा पुग्ने असरलाई ध्यानमा राख्दै आयोगले बिशेष ध्यान पुर्याउन निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले मतदानको बेला पानी परे त्यसको व्यवस्थापन गर्ने विशेष निर्देशन दिएको हो । आयोगले वर्षातको समय भएकोले मतदाताको हात भिजेको हुनसक्ने र भिजेको हातले मतपत्र समात्दा मतपत्र समेत भिज्ने वा मतसंकेत गर्दा मसी लत्पतिन सक्ने भएकोले मतदाताले राम्रोसँग हात पुछेपछि मात्र मतपत्र दिने व्यवस्था मिलाउन भनेको छ ।