पशुपंछी विमाका लागि अनुदान रकम बृद्धि

असार १२, काठमाण्डौ । सरकारले पशुपक्षीको बिमाका लागि अनुदानबापतको रकम बढाएको छ । पशुपंछीको विमामा कृषकको आकर्षण बढेपछि आगामी आर्थिक वर्षको लागि अनुदान बापतको रकम सात करोड रुपैयाँ बढाएको हो । चालु अािर्थक वर्षमा १८ करोड रुपैयाँ विनियोजन गरेकामा आव २०७४÷०७५ का लागि २५ करोड रुपैयाँ पु¥याएको हो । आव २०७२÷०७३ मा कृषकलाई पशुपक्षीको बिमामा सहुलियत दिन आठ करोड रुपैयाँ मात्र विनियोजन गरिएको पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा व्यावसायिक रुपमा पशुपक्षी पालन गर्ने किसानको व्यवसायमा जोखिम घटाउने उद्देश्यले विसं २०६८ मा पशुपक्षीको बिमाको अवधारणा ल्याइएको थियो । सोही अनुसार उक्त परियोजनामा सर्वसाधारण नागरिक तथा कृषकको चेतना तथा आकर्षण वृद्धि भएकाले पनि बिमा गर्नेको सङ्ख्या बढेको छ ।
बिमामा सर्वसाधारण नागरिकबाट पशुपक्षीको मूल्याङ्कन गराई वर्षमा एकपटक निश्चित रकम तिर्नुपर्ने हुन्छ । विभिन्न बिमा कम्पनीसँग समन्वय गरी तिरिएको रकमबाट निश्चित समयावधिभित्र पशुपक्षी मरेमा सम्बन्धित कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउनेछ । बिमा प्रिमियम रकमको २५ प्रतिशत पशुपक्षी धनीले तथा ७५ प्रतिशत सरकारले विनियोजन गरेको बिमा रकममध्येबाट प्रिमियम बुझाउने व्यवस्था गरिएको छ ।
देशका विभिन्न २१ वटा निजी क्षेत्रका बिमा कम्पनीले यस कार्यका लागि जनतालाई बिमा सेवा उपलव्ध गराउने जिम्मा लिएका छन् ।