मुग्लिन सडकखण्डमा लगातार पहिरोले सास्ती

असार १२ काठमाडौ — –मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ कालिखोला आसपास बिहीबार रातिदेखि पहिरो खस्ने क्रम थामिएको छैन । पहिरो हटाएर यातायात सञ्चालन गर्नासाथ फेरि खस्दा यात्रुलाई सास्ती भएको हो । शनिबार रातिको पहिरो आइतबार बिहान पन्छाइयो । त्यही स्थानमा अपराह्न फेरि पहिरो खसेपछि आवागमन रोकियो । उक्त पहिरो ४ घण्टापछि आइतबार साँझ पन्छाएपछि यातायात सञ्चालनमा आएको हो । गाडीको जाम खुकुलो नहुँदै पटक–पटक पहिरो खस्ने गरेकाले यात्रु अलपत्र परेका छन्

यस खण्डमा बिहीबार राति इलाका प्रहरीको बा१झ १३९० नम्बरको गाडी पहिरोसँगै २ सय मिटर तल त्रिशूलीमा खस्दा प्रहरी सहायक निरीक्षकसहित ३ प्रहरीको मृत्यु भएको थियो । उक्त घटनामा हराएका एक प्रहरी जवान अझै फेला परेका छैनन् । प्रहरी कालिखोलाको पहिरो पन्छाएर फर्किंदै थियो ।
जिल्ला प्रहरी उपरीक्षक दीपक थापाका अनुसार आइतबार अपराह्न पहिरो हटाउन ४ वटा स्काभेटर परिचालन गरिएको थियो । प्रहरी र उक्त सडक आयोजनाका कर्मचारीले ४ घण्टापछि पहिरो हटाएर गाडी खुलाएको थापाले बताए । सडकको ४० मिटर लम्बाइ ढाकेको पहिरो स्काभेटरको मद्दतले पन्छाएर त्रिशूलीमा खसालेकाले चाँडो भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

‘राति पहिरो पन्छाउन सम्भव नभएकाले स्काभेटर प्रयोग गरेका हौं,’ उनले भने, ‘अहिले पहिरो हटाइएको छ ।’ यस खण्डमा गत हिउँदमा समेत सुख्खा पहिरो झरेर हैरान तुल्याएको थियो । पानी पर्न थालेपछि अहिले दिनहुँ पहिरो खस्न थालेको हो । मानवीय क्षति बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आइतबार आयोजना प्रमुख र ठेकेदार कम्पनीलगायतलाई बोलाएर छलफल गरेका थिए । पहिरोको पूर्वजानकारी नगराउँदा क्षति बढेको भन्दै आयोजान निमित्त प्रमुख गोविन्द खनालप्रति भट्टले आक्रोश पोखे । ‘यो सडकखण्ड राष्ट्रको लाइफलाइन हो’, उनले भने, ‘यहाँ केही घटना भयो भने राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा चासोको विषय बन्छ ।’

लगातार पहिरो खसे पनि आयोजनाले स्थानीय प्रशासनलाई कुनै जानकारी गराएको थिएन । छलफलमा आयोजना र ठेकेदारको कामलाई लिएर आलोचना भएको थियो ।

आयोजनका आवासीय इन्जिनियर पुष्कर रेग्मीले ठेकेदारलाई काम छिटो सम्पन्न गर्न दबाब दिइरहेको बताए । ‘ठेकेदारको व्यवस्थापन पक्ष कमजोर भयो’, उनले भने, ‘चाँडो काम सक्न चाहिने उपकरण र जनशक्तिका बारेमा सुझाव दिएका छौं ।’

प्रशासन र आयोजनाबीच ६ महिनाअघि सडकखण्डमा द्रुत उद्धार टोली परिचालन गर्ने सहमति भएको थियो । तर, आयोजनाको कमजोरीले टिम परिचालन हुन नसकेको जिल्ला प्रहरी उपरीक्षक थापाले बताए । ‘प्रहरी र आयोजनाको प्राविधिकसहितको टोली २४ सै घण्टा उक्त खण्डमा खटिने सहमति भए पनि आयोजनाले सवारी र प्राविधिक उपलब्ध नगराउँदा टोली परिचालन हुन सकेन’, उनले भने, ‘टोली परिचालन भएको भए बिहीबार प्रहरीको जिपसहितको मानवीय क्षति हुने थिएन ।’ टोलीले पहिरो खसेको स्थानको पहिचान र पहिरोमा परेकाको तत्काल उद्धार गर्ने योजना थियो । नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्मको २९ स्थान पहिरोको जोखिम भएको सडक आयोजनाले जनायो ।

साभार —कान्तिपुर दैनिक