यस वर्षको मनसुनमा औसत वर्षा हुने अनुमान

असार ७, काठमाडौं – यस वर्षको मनसुनमा औसत वर्षा हुने अनुमान गरिएको छ। गत वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरूको दसौँ दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा यस वर्ष औसत वर्षा हुने अनुमान गरेको थियो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूार्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्। ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ मौसमविद् कँडेलले भनिन्, ‘केही घन्टाको मुसलधारे वर्षाले ठूलो प्राकृतिक प्रकोप हुन सक्छ।’ नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरु भई सेप्टेम्बर २३ सम्म सकिन्छ। नेपालमा यो चार महिनामा १४ सय मिलिमिटर पानी पर्छ।

जल तथा मौसम विज्ञान विभागको मंगलबार बेलुकासम्मको तथ्यांकअनुसार पोखरामा सबैभन्दा धेरै १७ दशमलव १ मिलिमिटर वर्षा भएको छ। दाङमा १५ दशमलव ४, ओखलढुंगामा १३ दशमलव ७ र काठमाडौंमा ११ दशमलव ५ मिलिमिटर वर्षा भएको छ।