उद्योगमा लगानी बढ्यो

असार ६, काठमाडौँ। गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा उद्योग क्षेत्रमा लगानी गर्नेको संख्या बढेको छ । चालु आर्थिक बर्ष २०७३÷७४ को अहिलेसम्ममा एक खर्ब ४५ अर्ब ८४ करोड रुपैयाँ लगानी भएको उद्योग विभागले जनाएको छ ।
गएको आर्थिक बर्षमा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा १ खर्ब २२ अर्ब ७० लाख रुपैयाँ लगानी भएको थियो । गएको आर्थिक बर्षमा ४ सय १० वटा उद्योग दर्ता भएका थिए भने यस बर्ष ४ सय ३३ वटा उद्योग दर्ता भएको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा दर्ता भएका उद्योगमध्ये २२ कृषि तथा वनजन्य, दुई निर्माण, आठ सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित, १६ ऊर्जामूलक, १ सय ९ उत्पादनमूलक रहेका छन् । यसैगरी तीन खनिज, १ सय ४१ सेवामूलक र १ सय ३२ पर्यटनमूलक उद्योग रहेका छन् । दर्ता भएका ४३३ उद्योगमध्ये विभाग अनलाइन दर्ता प्रक्रियामा गएपछि मात्र १५९ दर्ता भएका छन् ।