सञ्जयको शव ल्ययाउन समस्या

असार ५, काठमाडौँ । अमेरिकाको अलास्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा निधन भएका अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको शव ल्याउन समस्या भएको छ । वासिंङटन डिसीस्थित नेपाली दूताबासका अनुसार खराब मौसमका कारण शव ल्याउन नसकिएको हो । शव ल्याउन अझै केही समय लाग्ने बताइएको छ । पण्डितसँगै रहेका अन्य दुई नेपालीको अवस्था अज्ञात छ । उनीहरुको परिचय खुलेको छैन । खराब मौसमका कारण घटनास्थलमा हेलिकोप्टर पुग्न नसकेको बताइन्छ । अमेरिकास्थित नेपाली राजदूतावासले अलास्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा पण्डितको जुन १६ मै निधन भएको जनाएको छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने पण्डितको योजना थियो । अभियानको नेतृत्व टासी शेर्पाले गर्नु भएको थियो ।
करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उहाँको निधन भएको हो । अमेरिकी आधिकारीक निकायबाट नेपाली राजदूतावासलाई यसको जानकारी गराइएको थियो । संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गर्नु भएको थियो ।