धनकुटामा मादक पदार्थ सेवन र बिक्रीमा कडाई

 

असार ३, काठमाडौं – स्थानीय तह निर्वाचन अवधिमा शान्ति सुरक्षालाई ख्याल गर्दै जिल्ला सुरक्षा समिति धनकुटाले मादक पदार्थ सेवन तथा बिक्री वितरणमा कडाई गरेको छ । यसक्रममा अवैध मदिरालाई सधैंका लागि बन्देज लगाइएको छ भने निर्वाचन अवधिभर बेलुकी ८ बजेपछि होटल तथा रेस्टुराँमा समेत मदिरा तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समिति, उद्योग वाणिज्य संघ र होटल एसोसिएसन धनकुटाको संयुक्त बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले जानकारी दिए ।

यसैबीच, निर्वाचनको मौनअवधिदेखि मतदान अवधिभर मदिरा बिक्री तथा सेवन गर्न समेत नपाइने निर्णय गरिएको छ । यसबारे सार्वजनिक रुपमा सूचना गरिएको र कसैले नियम उल्लंघन गरे कानुनी कारबाही गरिने समेत जनाइएको छ ।

साभार —कान्तिपुर