मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

असार १। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धा्रित समयभित्र पूरा नहुने भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभयो ।
सुरुङ निर्माण गर्न अम्बाथानदेखि ग्याल्थुमसम्म १.५ किमी र ग्याल्थुमदेखि सिन्धुसम्म १.५ किमी गरी तीन किमी बाँकी नै भएको आयोजनाले जनाएको छ । सिन्धुको माथिल्लो भागमा कमसल चट्टान फेला परेकाले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उपकार्यकारी निर्देशक दुवाडीले भन्नुभयो – “दैनिक १५ देखि बढीमा २३ मिटरसम्म मात्र सुरुङ खन्ने काम भएकाले दसैँको लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ ।”
काममा तीव्रता दिन बेलाबेलामा ठेकेदार कम्पनीलाई निर्देशन दिइए पनि उपकरणहरु बारम्बार बिग्रिरहने कारणले पनि काममा असर पर्न गएको आयोजनाले जनाएको छ ।