जथाभावी बाटो काट्नेलाई जरिवाना नतिराउनुः गृहमन्त्री

जेठ ३०, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले जथाभावी बाटो काट्नलाई जरिवाना नतिराउन निर्देशन दिनुभएको छ । आज नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्रालयमा बोलाएर मन्त्री सर्माले यस्तो निर्देशन दिनुभएको हो । गृहमन्त्री शर्माले जरिवाना उठाउनेभन्दा पनि ट्राफिक शिक्षा दिने काममा जोड दिन आग्रह गर्नुभएको छ । जरिवानाको भरमा  जहाँसुकैबाट बाटो काट्ने प्रवृत्तिको अन्त्य नहुने भन्दै उहाँले जरिवाना लिने कार्य हटाएर जनचेतना जगाउनेतर्फ लाग्न निर्देशन दिनुभयोे । उपलब्ध साधन र स्रोतको प्रयोग गरेर सहज सवारी आवागमनको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री शर्माले अन्य मन्त्रालय र विभागसँगको समन्वयमा गर्नुपर्ने कामको पूर्ण विवरण तयार पार्न पनि निर्देशन दिनुभयो । त्यसतै उहाँले सडक किनारामा थुपारिएका निर्माण सामग्री तत्काल हटाउन र मेलम्ची खानेपानी आयोजनाले भत्काएका सडक तत्काल पुनःनिर्माण गरी धुलोरहित बनाउन कुन निकायले के गर्नुपर्ने हो तत्काल देखिने गरी कार्यसम्पादन गर्नसमेत भन्नुभएको छ । जनताले अनुभव गर्ने गरी ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।