राजपाका कार्यकर्ताले गरे एमाले सांसदको गाडीमा ढुङ्गामुढा

जेठ ३० । महोत्तरीको औरही गाउँपालिकामा नेकपा एमालेका सांसद चढेको गाडीमा ढुङ्गामुढा प्रहार भएको छ । महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले आज बिहानै ढुङ्गामुढा गरेका छन् ।  बर्दिबास औरही–जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार गाडीमाथि ढुङ्गमुढा गरेका हुन् । ढुङ्गामुढाबाट सांसद साहको गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ । ढुङ्गामुढा प्रहार पश्चात सांसद सवार गाडीका चालकले गाडी तिब्रगतिमा भगाएर ज्यान जोगाएका छन् । सरकारले असार १४ गते घोषणा गरेको स्थानीय तहको दोस्रो चरणको चुनावको विरोध गर्दै आएको राजपा नेपालले मंगलबारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको पहिलो दिन बन्दमा गाडी चलाएको भन्दै राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडीमा ढुङ्गमुढा प्रहार गरेका हुन् ।
उता, नेपालगञ्जमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले चुनावी प्रचार प्रसारमा प्रयोग गरेका गाडीमा तोडफोड भएको छ । आज त्रिभुवनचोकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डाक्टर सुरेशकुमार कनौडीयाले प्रयोग गरेका जीपमा तोडफोड भएको हो । प्रहरीले  तोडफोडमा संलग्न रहेको भन्दै राजपा नेता ललित रौनीयारलाई पक्राउ गरेको छ ।