तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

जेठ २९, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । नेकपा एमाले ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सकिएपछि अरु सबै दलहरु मिले पनि एमालेलाई सरकारमा जानबाट कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो अवस्था तीनै तहको निर्वाचनपछि नहुने उहाँले बताउनुभयो ।
उहाँले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाउनुभयो । “अरुले दौडेर जित्ने अवस्था छैन, छिर्के लगाएर लडाउने काम भएको छ, ललितपुरमा त्यही काम भएको हो, जितेको मान्छेलाई हराइएको छ” – पार्टीको सजगतामा कमी भएको तथ्य औँल्याउँदै उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले जनप्रतिनिधिलाई संविधान पढ्न र जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिँदै स्थानीय सरकार पहिलेको स्थानीय निकायजस्तो नभएको हुँदा संविधानले तोकेको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि सक्रिय हुनुपर्ने बताउनुभयो ।