विकास समितिको निर्देशनः सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्नु

जेठ २९, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सबै स्थानीय तहमा बंैक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि अर्थमन्त्रालय र नेपाल राष्ट्र बंैकलाई यस्तो निर्देशन दिइएको हो । सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
संवैधानिक रुपमा स्थानीय तहलाई दिइएका काम, कर्तव्य र अधिकार कार्यान्वयन गराउन आवश्यक खर्चको व्यवस्था गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । स्थानीय तहको क्षमता विकासका लागि प्रशिक्षणको व्यवस्था गर्न, स्पष्ट मापदण्डका आधारमा कर्मचारी नियुक्त गर्न पनि समितिले निर्देशन दिएको छ ।
संविधानमा व्यवस्था भएअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारका सूचीको खाका तयार पार्न सरकार, राष्ट्रिय योजना आयोग र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।