को को बन्दैछन् सशस्त्रमा डीआईजी ?

काठमाडौं, जेठ २७– सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्ना दुई जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएकै दिन रिक्त पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको छ।

डीआईजीद्वय उत्तम खड्का र दिवाकर केसीले डीआईजीको पाँच बर्से कार्यकालका कारण अनिवार्य अवकाश पाएकै दिन सशस्त्र मुख्यालयले बिहीबार पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको हो। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

बलको प्रशासन विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) तथा बढुवा समितिका सदस्य सचिव पुष्पराम केसीद्वारा हस्ताक्षरित सूचनामा सम्भाव्य उम्मेद्वारहरुलाई आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिसहितको मूल्याकंन फारम भरेर पेश गर्न भनिएको छ। जसका लागि तीन दिनको समय दिइएको छ। यसमा शैक्षिक योग्यतालाई विशेष प्राथमिकता दिइएको छ।

एसएसपीमा वरिष्ठतामा प्राविधिक पृष्ठभूमिका इन्जिनियर प्रजाभक्त श्रेष्ठ, सञ्चारका राजु सुवाल, सञ्जयविक्रम राणा, चीरञ्जीवी अधिकारी, प्रविण श्रेष्ठ, नगेन्द्र थापा, कविन्द्रमान श्रेष्ठ अगाडि छन्। राणा, अधिकारी, थापा र कविन्द्रमान श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भएर आएका हुन्।

वरिष्ठतामा तेस्रो स्थानमा रहे पनि राणा बढुवामा पर्ने छैनन्। राणाको शैक्षिक योग्यता प्रविणता प्रमाणपत्रको मात्र रहेको छ। सशस्त्र प्रहरी नियमावली २०७२ मा तालिम, ज्येष्ठताभन्दा शैक्षिक योग्यतालाई बढी प्राथमिकता दिएका कारण राणा बढुवामा नपर्ने भएका हुन्।

राणाले मध्यरातमा सूचना प्रकाशित गरेर बढुवा प्रक्रिया थालिएकोमा असन्तुष्टि व्यक्त गरे। उनले सशस्त्र प्रहरी नियमावली २०७२ नेपाली सेनाबाट आएकाको पक्षमा नरहेको भन्दै आफूहरुलाई नियोजितरुपमा पछाडि पार्ने खेल भएको बताए।

सशस्त्रमा सशस्त्र प्रहरी नियमावली २०७२ विशेषगरी नेपाली सेनाबाट स्थानान्तरण भएर आएकाको हकमा प्रतिकुल भएको भन्दै संशोधन हुनुपर्ने माग लामो समयदेखि भइरहेको छ।

वरिष्ठतामा एक नम्बरमा रहेका इन्जिनियर श्रेष्ठ आफ्नो जिम्मेवारीप्रति खासै गम्भीर मानिदैनन्। उनमा तुरुन्तै निर्णय लिने क्षमता पनि देखिँदैन। यूएन मिसनमा जाँदा काम गर्न नसकेर उनी बीचैमा फर्किएका थिए।