जेठ २४, काठमाडौं – मुख्यसचिव सोमलाल सुवेदीले काठमाडौं उपत्यकाभित्र रहेका महानगरपालिका र नगरपालिकामा एक हप्ताभित्र कर्मचारी खटाइसक्न निर्देशन दिएका छन् ।
स्थानीय तहको चुनाव भएको करिब एक महिना पुगिसकेका भन्दै उनले तत्काल कर्मचारी खटाएर स्थानीय तहलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हुन् ।
स्थानीय तहमा कर्मचारी खटाउने सन्दर्भमा विषयगत मन्त्रालयका सचिवहरु र सहसचिवहरुसँगको छलफलपछि मुख्यसचिव सुवेदीले यस्तो निर्देशन दिएका हुन् ।
यसका लागि सामान्य प्रशासन मन्त्रालयको सचिवको नेतृत्वमा स्थानीय विकास मन्त्रालयका सचिव र विषय मन्त्रालयको सचिव गरी तीनजनाको कार्यदल बनाउन सुवेदीले निर्देशन दिएका छन् । सो कार्यदलले एक हप्ताभित्र उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकामा आवश्यक कर्मचारी खटाइसक्नुपर्ने छ ।
उपत्यका बाहिर एक महिनाभित्र सक्नु
मुख्यसचिव सुवेदीले कम्तिमा एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी खटाइसक्न निर्देशन दिएका छन् । उनले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न विस्तृत ओ एण्ड एम सर्भे सम्पन्न पश्चात सोही बमोजिम हुने गरी स्थानीय तहमा कर्मचारी खटाउन भनेका हुन् ।
मुख्यसचिव सुवेदीले जुनसुकै हालतमा एक महिनाभित्र प्रमुख जिल्ला अधिकारी मार्फत कर्मचारी खटाउन सक्ने गरी व्यवस्था मिलाउन भनेका छन् ।
स्थानीय तह गठन भएको झण्डै तीन महिना वितिसक्दा पनि सरकारले केन्द्रमा रहेका कर्मचारी तल पठाउन सकेको छैन । कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयले गृहकार्य मात्रै गर्ने, तर परिणाम नदेखिएपछि मुख्यसचिवले यसमा अग्रसरता लिएका हुन् ।