चाँगुनारायणको मेयर र उपमेयरमा एमालेको विजय सुनिश्चित

जेठ १६ ,भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा नं. ८ मा एमालेकोे समूह विजयी भएको छ । वडा नं. ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेद्वार रहेका परासर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुबेर खत्रीले ९३३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्यहरु सत्यराम तसजु एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरि विजयी हुनु भएको छ ।
चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेद्वार रहनुभएका सोम मिश्रले सात हजार ४६४ मत र उपप्रमुख विना बास्तोलाले सात हजार ८३६ मतले अग्रता लिनुभएको छ ।
नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेद्वार राजाराम खड्काले ६ हजार ३९७ मत र उपप्रमुख सरु बाँनियाले ६ हजार ९६५ मतले पछ्याउनु भएको छ ।
यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेद्वार रहनुभएका रबिन्द्रप्रताप शाहले चार हजार ९८१ मत, उपप्रमुखकी उम्मेद्वार यवती कार्कीले चार हजार ३२७ मत ल्याएर पछ्याई रहनु भएको छ । नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेद्वार रहनु भएका न्हुछे फोजूले तीन हजार ४८९ मत र उपप्रमुख रीता काफ्लेले तीन हजार १५ मत प्राप्त गरी प्रतिस्पर्धामा रहनु भएको छ ।
चाँगुनारायण नगरपालिकामा वडा नं. १, २, ५ र ७ मा नेपाली कांग्रेसको समूह विजयी भएपनि वडा नं. ३, ४, ६, र ८ मा एमालेले समूह नै विजयी हासिल गरेको छ । वडा नं. ५ र ७ मा एक एक सदस्यमा एमालेको उम्मेद्वारले विजयी हासिल गरेको छ । अन्तिम मतगणना जारी रहेको वडा नं. ९ ताथलीलाई नेमकिपाको गढको रुपमा मानिदै आएको छ ।