गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

जेठ १५ ,काठमाडौं – गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।
दिवसको अवसरमा शुभकामना दिनुहुदै राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्रि पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको छ । दिवसको अवसरमा शुभकामना दिदै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको आवश्यकता भएको बताउनुभएको छ ।