माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव

जेठ १५ , चितवन – माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ ।

मत गणनास्थलमा मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

मतपत्र च्यातेका वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले भने भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको दाबी गरेका छन् । यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको उनले आरोपसमेत लगाए ।