जेठ १४, काठमाडौं – काठमाडौंबाट लुक्ला जाँदै गरेको गोमा एयर (प्रस्तावित समिट एयर) को जहाज एलइटिएल–४१० दुर्घटनामा परेको छ । तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा पाइलट पारसकुमार राईको निधन भएको छ । को–पाइलट श्रीजन मानन्धर र एयरहोस्टेस प्रज्ञा महर्जन घाइते भएको गोमा एयरका सेफ्टी म्यानेजर सागर आचार्यले बताए ।
कम्पनीले सन् २०१४ मा दुईवटा ब्रान्ड न्यु एलइटिएल–४१० जहाज भित्राएको थियो । त्यसमध्ये रजिष्ट्रेसन नं. ९एन–एकेवाई प्राप्त एक जहाज शनिबार दुर्घटनाग्रस्त भएको हो । धावनमार्गमा ‘फाइनल टच’ गर्ने क्रममा जहाज दुर्घटनाग्रस्त भएको गोमा एयरले उल्लेख गरेको छ । जहाज दुर्घटनामा परेपछि लुक्लास्थित सुरक्षाकर्मी र स्थानीय उद्धारमा जुटेका थिए । जहाजमा च्यापिएका पाइलट, कोपाइलट र एयर होस्टेसलाई उद्धार गर्न समय लागेको थियो ।
दुर्घटनामा परेको यो जहाज छोटो धावनमार्ग भएका पहाडी विमानस्थलका लागि उपयुक्त जहाज हो । गोमाले गत फागुनमा पनि दुईवटा सोही प्रकृतिका जहाज थपेपछि चार जहाज पुगेका थिए । यी जहाज डबल इन्जिनयुक्त हुन् । गोमासँग दुईवटा सिंगल इन्जिन जहाज पनि छन् ।
जहाज के कारणले दुर्घटनामा परेको हो भन्ने खुल्न नसकेको प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार जहाज दुर्घटना छानबिन आयोग गठन गर्ने प्रवक्ता घनश्याम उपाध्यायले बताए ।
प्रतिकूल मौसमले समस्या
नयाँ जहाज अनुभवी पाइलटले चलाएको भए पनि कसरी दुर्घटनमा प¥यो भन्ने सम्बन्धमा कुनै अनुमान गर्न नसकिने कम्पनीका सेफ्टी म्यानेजर आचार्यले बताए । उनका अनुसार लुक्लाको मौसम शनिबार दिनभरजसो प्रतिकूल रह्यो, जसले गर्दा काठमाडौंबाट हेलिकोप्टर पठाएर घाइतेको उद्धार गर्न सकिएन । तर, प्रयास भने जारी रहेको उनले बताए ।
दुर्घटना भएकै जहाज १,८४५ घन्टा उडाइसकेका थिए राईले
दुर्घटनामा परी ज्यान गुमाएका ४८ वर्षीय क्याप्टेन पारसकुमार राई काठमाडौं बूढानीलकण्ठका बासिन्दा हुन् । अप्रिल २०१४ बाट गोमा एयरमा सेवा प्रारम्भ गरेका राईले शनिबार दुर्घटनामा पर्नुअघिसम्म ९ हजार ६ सय ८५ घन्टा उडान गरिसकेको कम्पनीले जानकारी दिएको छ । श्रीमती, एक छोरा र एक छोरीका अभिभावक राईले दुर्घटनामा परेको जहाज मात्र १ हजार ८ सय ४५ घन्टा उडाइसकेका थिए । ‘मिलनसार, हँसिलो स्वभाव र अनुभवी पाइलटलाई गुमाउनुपर्दा हवाई उद्योगमा अतुलनीय क्षति पुगेको छ,’ कम्पनीका सेफ्टी म्यानेजर सागर आचार्यले भने ।
युवा को–पाइलटको १२ सय घन्टा उडानको अनुभव
सन् २०१५ मा गोमा एयरमा सेवा थालेका २७ वर्षीय को–पाइलट श्रीजन मानन्धर काठमाडौं मरुटोलनिवासी हुन् । उनले आफ्नो करिअरमा १ हजार २ सय घन्टा उडान गरिसकेको कम्पनीले जनाएको छ । त्यसमध्ये अधिकांश समय उनी यही दुर्घटनाग्रस्त जहाजबाटै उडान गरेका छन् । कीर्तिपुरनिवासी एयरहोस्टेस प्रज्ञा महर्जनले पनि सन् २०१५ बाट गोमा एयरमा सेवा प्रारम्भ गरेकी हुन् ।आजको नयाँ पत्रिका दैनिकबाट