उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व, ०५४ को निर्वाचनभन्दा सुदृढ

 

जेठ ११ ,काठमाडौं – काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ। घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ। निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले १० स्थानीय तहमा प्रमुख पद जितेको छ। प्रतिशतका आधारमा यो संख्या ५२.६ हो। उसले ११ स्थानमा उपप्रमुख जितेको छ, जुन घोषणा भएका तहमध्ये ५७.८९ प्रतिशतले अघि हो। अर्थात् एमालेले उपत्यकाभित्र प्रमुखमा ५२.६ र उपप्रमुखमा ५७.८९ प्रतिशत वर्चश्व कायम गर्न सफल भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
उपत्यकामा एमाले ०५४ को स्थानीय निर्वाचनभन्दा सुदृढ
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलका अनुसार उपत्यकामा अहिले प्राप्त मत ०५४ को स्थानीय निकाय निर्वाचनको भन्दा राम्रो हो। राष्ट्रिय स्वाभिमान र समृद्धिको पक्षमा लिएको दृढताका कारण एमाले जबर्जस्त अघि आएको उनको तर्क छ। ‘राष्ट्रियताको पक्षमा एमालेले दृढताका साथ आफूलाई उभ्यायो। विकास निर्माणमा एमालेले सारेको एजेन्डा स्पष्ट थिए, यसलाई उपत्यकावासीले मन पराए। निर्वाचनको परिणाम यसैको प्रतिबिम्ब हो,’ उनले भने।
६ स्थानीय तहमा कांग्रेसको जित
कांग्रेसले घोषणा भएका तहमध्ये ६ स्थानमा मात्रै प्रमुख जितेको छ। उपप्रमुख भने पाँच स्थानमा जितेको छ। अर्थात् कांग्रेसले घोषणा भएकामध्ये ३३.३ प्रतिशत तहमा प्रमुख जितेको छ। उपप्रमुख भने २७.७ प्रतिशत मात्रै जित्न सफल भएको छ।
उपत्यकामा माओवादी केन्द्रको स्थिति निकै नाजुक
काठमाडौं उपत्यकामा वर्चश्व कायम गर्ने मामिलामा सत्ताको नेतृत्व गरेको दल माओवादी केन्द्र निकै पछि परेको छ। माओवादी केन्द्रले एक स्थानीय तहमा मात्रै प्रमुख र उपप्रमुख जित्न सकेको छ। अर्थात् माओवादीले उपत्यकामा ५.५ प्रतिशत स्थानमा मात्रै आफ्नो वर्चश्व कायम गर्न सकेको छ। माओवादी केन्द्रका अनुसार चुनावप्रतिको अन्योलता र एकांकी नेतृत्वका कारण परिणाम नाकारात्मक आएको नेताहरूको भनाइ छ।माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले उपयुक्त उम्मेदवार चयन गर्न नसक्नु र सरकारको काम जनतामा लग्न नसकिएकाले काठमाडौं उपत्यकामा पार्टीले चुनाव हार्न पुगेको बताए। ‘पहिलो त चुनाव हुने कि नहुने भन्ने अन्योलबीच हामी निर्वाचनमा गयौँ। यसको असर चुनावमा पर्यो। कार्यकर्ताबीच नेतत्व पुग्नै सकिएन। सरकारको उपलब्धि जनतासम्म लैजान सकिएन। नेतृत्व एकांकी बन्यो। यसको असर चुनाव पर्यो,’ उनले भने।
भक्तपुरमा नेमकिपाको वर्चश्व कायमै
नेपाल मजदुर किसान पार्टीले उपत्यकाको भक्तपुरमा वर्चश्व कायम राख्न सफल भएको छ। भक्तपुरबाहेकका जिल्लामा नेमकिपाले खासै जित्न सकेन। उसले उपत्यकामा एक स्थानीय तहको प्रमुख र उपप्रमुख जित्न सकेको छ। चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको संयुक्त प्यानल, लोकतान्त्रिक फोरम, राष्ट्रिय जनमोर्चाको काठमाडौं उपत्यकामा स्थिति निकै नाजुक देखिएको छ।