एमाले अवरोधले प्रधानमन्त्रीले राजीनामा दिन पाएनन्, देउवाले नकुर्ने

जेठ १०, काठमाडौं – सत्तासाझेदार कांग्रेससँगको भद्र सहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड मंगलबार संसद्लाई विशेष सम्बोधन गरेर राजीनामा दिन ठिक्क परेका थिए । राजीनामापत्र बोकेरै उनी दिउँसो संसद् भवन पुगेका थिए । तर, तराईमा २२ वटा स्थानीय तह थप्ने सरकारको निर्णयको विरोध गर्दै एमालेले संसद् अवरोध गर्ने र प्रधानमन्त्रीलाई सम्बोधनसमेत गर्न नदिने अडान लिएपछि प्रचण्डको राजीनामा रोकियो । दलहरूबीचको विवादका कारण संसद् नै नचलेपछि राजीनामापत्र त्यत्तिकै बोकेर प्रधानमन्त्री बालुवाटार फर्किएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

दोस्रो निर्वाचनसम्म नकुर्ने ‘मुड’मा देउवा
पार्टीभित्रै बाट दोस्रो चरणको निर्वाचनसम्म प्रधानमन्त्रीका लागि हतार नगर्न दबाब परे पनि कांग्रेस सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्रीको राजीनामाको पक्षमा छन् । उनीनिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दोस्रो चरणको निर्वाचन कुर्ने ‘मुड’मा देउवा छैनन् । ‘सभापति पनि दोस्रो चरणको निर्वाचनपछि मात्र प्रचण्डबाट राजीनामा आउनुपर्छ भन्ने पक्षमा हुनुहुन्न,’ कार्कीले भने । सरकार परिवर्तन हुँदा बजेट ल्याउन र निर्वाचनलाई कुनै असर नहुने देउवाको बुझाइ छ ।