काभ्रेका ६ मध्ये ५ नगरपालिकामा एमालेको जित

 

जेठ ७ , काठमाडौं —    काभ्रेका ६ मध्ये एमालेले ५ नगरपालिका जितेको छ  । जिल्लाका प्रभावकारी मानिएका तीन पुराना र ठूला नगरपालिका बनेपा, धुलिखेल र पनौतीमा एमाले उम्मेदवार भारी मतान्तरमा विजयी भएका छन् । यसपटक नगरपालिका भएको मण्डन देउपुर र नमोबुद्ध नगरपालिका पनि एमालेले जितेको छ भने सत्तारुढ नेपाली कांग्रेस एक नगरपालिकामा सिमित हुन पुगेको छ ।

शनिवार राती मतगणना सकिएको धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोक ब्याञ्जु निर्वाचित भए । त्यस्तै उपमेयरमा पनि एमालेकै विमला शर्मा निर्वाचित भइन् । शनिवार बिहान मतगणना सकिएको नमोबुद्ध नगरपालिकामा एमालेका टीपी शर्मा तिमल्सिना मेयर र रामदेवी तामाङ उपमेयर निर्वाचित भइन् ।

यसअघि नै मण्डन देउपुर नगरपालिकामा एमालेका टोकबहादुर तामाङ मेयर र निर्मला शाही उपमेयर निर्वाचित भएका थिए । यस्तै बनेपा नगरपालिकाको मेयरमा लक्ष्मीनसिंह वादे मेयर र रेखा दाहालले उपमेयरमा विजय हासिल गरे । पनौती नगरपालिकामा पनि एमालेका उम्मेदवार भीम न्यौपाने मेयर र गीता बञ्जारा उपमेयर निर्वाचित भए ।

६ नगरपालिका मध्ये ५ मा एमालेले जितेपछि बाँकी रहेको एक पनौती नगरपालिका भने कांग्रेसले जितेको छ । पाँचखालको मेयरमा कांग्रेसका महेश खरेल र उपमेयरमा लक्ष्मी दनुवारले जीत हात लगाएका थिए ।

काभ्रेका ७ गाउँपालिका मध्ये कांग्रेसले कांग्रेसले ३ एमालेले २ र माओवादीले २ मा जीत हात लगाए । कांग्रेसले बेथानचोक गाउँपालिका, रोसी र तेमाल गाउँपालिकामा जीत हात लगाएको छ भने एमालेले भुम्लु र खानीखोला गाउँपालिकामा जितेको छ । यस्तै माओवादीले महाभारत र चौंरीदेउराली गाउँपालिकामा जितेको छ ।