जेठ ६ , काठमाडौं भरतपुर महानगरपालिकाको मतगणना पारदर्शी नभएको भन्दै कांग्रेस, माओवादी केन्द्र, र राप्रपाले मतगणना बहिस्कार गरेपछि शुक्रबार बेलुकादेखि स्थगित मतगणना पुनः सुरु भएको छ ।
शनिबार प्रमुख दलहरूबीच दश बुँदे सहमति भएपछि पुनः मतगणना सुरु भएको हो । अहिले वडा नम्बर १० को पुनः मतगणना सुरु भएको छ ।
मतगणना स्थलमा राजनीतिक दलको प्रतिनिधिहरुको छुट्टै डेस्क राख्ने, प्रत्येक समूहबाट आउने परिणाम राजनीतिक दलका प्रतिनिधिहरुको डेस्कमा सुनाउने/देखाउने र त्यसपछि सार्बजनिक गर्ने र अन्तमा कम्प्युटरमा इन्ट्री गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
यसअघि गणनामा बसेका मुख्य निर्वाचन अधिकृतले कम्प्युटरमा मत परिणाम इन्ट्री गर्दा गलत इन्ट्री गरेको आरोप कांग्रेस, माओवादी र राप्रपाले लगाएका थिए ।
बदर मतपत्रहरुको संख्या यकिन गर्ने र सार्वजनिक गर्ने, मतगणनालाई पारदर्शी, जवाफदेही बनाउनका लागि कमी कमजोरीहरु र गुनासाहरुलाई कानुन बमोजिम पत्ता लगाई सहमतीमा समाधान गर्ने एक कार्यदल गठन गर्ने उल्लेख छ ।
प्रत्येक वडाको मतपत्रका बाकस खोल्नु अघि मतपत्र रहेको र सर्टिङ गरेको मतमा कति-कति छ भन्ने बारेमा जानकारी गराउने सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, माओवादीका नारायणप्रसाद दाहाल, राप्रपाका बद्री तिमल्सिना र राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतमले हस्ताक्षर गरेका छन् ।