मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जलि सभा

 चितवन, ३ जेठ –नेकपा(एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उनीहरु सवार जीप दुर्घटनास्थल दासढुङ्गामा आज स्मृति सभा गरिएको छ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउँदै गर्दा उनीहरु चढेको जिप मुग्लिन–नारायणगढ सडक खण्डको दासढुङ्गामा दुर्घटना भई त्रिशूलीमा खस्दा नेताद्वयको निधन भएको थियो ।

नेकपा (एमाले) चितवनले कार्यक्रमको आयोजना गरेको सो सभामा बोल्दै प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा दासढुङ्गा र गाँजीपुरमा नमुना स्मृतिपार्क बन्ने बताए  ।

गाँजीपुर मदन भण्डारीको शव भेटिएको स्थान हो । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै अगाडि बढ्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए  ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य विजय सुवेदी, चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, उपाध्यक्ष तेजेन्द्र खड्का, सचिव पार्वती रावललगायतले मदन भण्डारी र जीवनराज आश्रितले देखाएको बाटोमा अगाडि बढ्न सके देशलाई समृद्ध बनाउन सकिने बताए ।

नेपाल सरकारले उनीहरुको दुर्घटना भएको स्थल दासढुङ्गा र शव भेटिएको ठाउँ गाँजापुरमा स्मृति पार्क बनाउँदै छ । एमाले चितवनकी सचिव पार्वती रावलका अनुसार दासढङ्गामा मदन–आश्रित स्मृतिपार्क र गाँजीपुरमा मदन स्मृतिपार्क निर्माण गरिँदैछ । पहिलो चरणमा करिब रु १० करोड बराबरको जग्गा खरिदका लागि बोलपत्र आह्वान समेत भइसकेको उनले  बताइन् ।

जिल्लामा स्थानीय तहको निर्वाचनको मतगणनाका कारण यसपटक ठूलो कार्यक्रम भने हुन सकेन ।

रासस