जताततै बमै बम, पोखरामा विस्फोट, धनगढी र चितवनमा निस्क्रिय

वैशाख ३०, पोखरा –पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो ।निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ । बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न उच्छुङ्खल तत्वको खोजतलास गरिरहेको जनाएको छ ।

बम निस्क्रिय

धनगढी, ३० वैशाख । धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा आज बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ । धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले निर्वाचनको विरोध गरिरहेको विप्लव मओवादीका कार्यकर्ताले आतङ्क फैलाउने उद्देश्यले यी दुई ठाउँमा बमजस्तो देखिने शङ्कास्पद वस्तु राखेको हुनसक्ने बताउनुभयो । बम भेटिएको सडकमा प्रहरीले सतर्कता अपनाउँदै बम निस्क्रिय पारिएपछि अहिले यातायात आवागमन सुचारु भएको छ । रासस

प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

चितवन, ३० वैशाख । भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्र्पक कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय(डिस्पोज) गरेको छ ।

भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेसँगै अहिले त्यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । रासस