भोट किन्न पैसा बाँडेको आरोपमा मन्त्री रोमी गौचन समातिए

वैसाख ३०, काठमाडौं–  वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको आरोप लागेपछि आक्रोशित सर्वसाधारणका कारण शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त भएको छ ।

मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर स्थानीय यामप्रसाद थकालीको घरमा राखेको छ । प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् । बिहानैदेखि जोमसोम बजारमा कांग्रेसबाहेकका दलहरु र स्वतन्त्रका उम्मेदवार सर्मथित कार्यकर्ताहरुको प्रदर्शन चर्किएको छ । प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै रोकिएका छन् । प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् । सदरमुकामभरि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्रलाई व्यापक खटाइएको छ ।

 

मन्त्री गौचन शुक्रबार दालोमे गाउँपालिका तेताङ गाउँमा आफ्ना कांग्रेस कार्यकर्ता भेट्न पुगेका थिए । राति १२ बजे सर्वसाधारणको घरघरमा पुगेर पैसा बाँडेको थाहा पाएपछि सर्वसाधारणले समातेर मन्त्री गौचनलाई झुसाङ प्रहरीलाई बुझाएका थिए । लगत्तै एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रका कार्यकर्ता पुगेर उनलाई राखिएको स्थानमा घेराबन्दी गरे । राति नै प्रहरीको सुरक्षा घेरामा मन्त्री गौचनलाई सदरमुकाम जोमसोम ल्याइएको थियो । मन्त्री गौचनले भोट किन्न पैसा बाँडेकोले रंगेहात समातेर प्रहरीलाई बुझाइएको एमालेका पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए । ‘मन्त्री भएको मान्छे निर्वाचन आचारसंहिताविपरीत पैसा बाँड्ने र भोट माग्ने गरेकोले सर्वसाधारण र दलहरुका कार्यकर्ताले उनलाई समातेर प्रहरीलाई बुझाएका हुन्,’उनले भने, मन्त्रीको पदमा बसेर गौचनले एकसातादेखि पैसा बाँड्ने र भोट माग्ने काम गरेका छन् ।’उनलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको आधारमा कारबाही नगरेसम्म सबै दलहरुको विरोध कार्यक्रम जारी रहने बताए ।

प्रदर्शनमा एमाले, माओवादी, राप्रपा र स्वतन्त्रका कार्यकर्ता उत्रिएका छन् । मुस्ताङमा स्वतन्त्र उम्मेदवारको ठुलो प्रभाव रहेको छ । माओवादीका नेता गणेश थकालीले मन्त्रीबाट चरम निर्वाचन आचारसंहिता हनन् भएकोले प्रदर्शनमा उत्रन परेको उल्लेख गरे । घरपझोङ गाउँपालिका स्वतन्त्रका अध्यक्ष उम्मेदवार महेन्द्र थकालीले मन्त्री गौचन अनेक बहाना बनाएर कानुन उल्लघंन गर्दे सर्वसाधारणलाई प्रभाव पारेकोले अनुसन्धान गरी कारबाही हुनुपर्ने बताए ।समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रदर्शन चर्किएपछि जिल्लास्थित सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बसेको छ । सेना, प्रहरी, सशस्त्र र अनुसन्धानका प्रमुखहरुले भोलि आइतबार हुने निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेका छन् । मन्त्री गौचनले पैसा बाँडेको सम्बन्धमा अनुसन्धान भइरहेको र शान्ति सुरक्षाका लागि आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भिमराज पोखरेलले जानकारी दिए । मन्त्री गौचन एक सातादेखि यति एयर लायन्सको हेलिकप्टर भाडामा लिएर मुस्ताङको गाउँगाउँ पुगेका छन् । उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै शुक्रबार उनी चढेको हेलिकप्टरमा प्रजिअ पोखरेलसहितको सुरक्षा टोलीले खानतलासी गरेको थियो ।

गौचनले आफू कोरला नाका भ्रमणमा आएकोले निर्वाचन आचारसंहिता नतोडेको सुरक्षा प्रमुखहरुसमक्ष बताएका थिए । मुस्ताङका कांग्रेस कार्यकर्ताले मन्त्री गौचनले पैसा बाँडेको कुरा निराधार भएको दाबी गरेका छन् । विपक्षले चुनाव हार्ने भएकोले अनेक वहाना देखाएर कांग्रेसका नेतालाई बद्नाम गर्ने षड्यन्त्र हो, कांग्रेस महिला संघकी जिल्ला उपाध्यक्ष पुष्पा शेरचनले भनिन् । आफ्ना कार्यकर्तालाई भेट्न नपाउनु कुन राजनीति अधिकार हो ? उनको भनाइ छ । स्थितिलाई साम्य पार्न जिल्ला प्रशासनले सम्बन्धित सबै दलहरुका प्रतिनिधिलाई बैठकमा डाकेको छ । चुनाव भाँड्न नदिन सबै दललाई वार्तामा बस्न आह्वान गरिएको प्रजिअ पोखरेलले बताए ।


वाणिज्यमन्त्री रोमी गौचन थकालीले सर्वसाधारणलाई भोट किन्न पैसा बाँडेको आरोपमा मुस्ताङको सदरमुकाम जोमसोममा शनिबार बिहानैदेखि गरिएएको प्रदर्शन ।