– सुनिल मणि दाहाल
ग्रामिण जनतालाई उग्र राष्ट्रवादको नाराले आकर्षण गर्न सफल भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको लहर र लहडलाई अनुकरण गर्दै फ्रान्समा भएको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार भएकी ४८ वर्षिया मेरिन ली पेनलाई फ्रान्सेली जनताले हराएका छन्। उता, राष्ट्रपतिका अर्का उम्मेदवार ३९ वर्षीय यूवा नेता इम्यानुएल माक्रोन जो उग्र राष्ट्रवादको बिरोधी हुन् र मुस्लिम तथा अप्रावास नीतिका लागि नरम विचारक मानिन्छन्, तिनलाई भारी मतले फ्रान्सेली जनताले राष्ट्रपतीमा निर्वाचित गरे।
फ्रान्सेली जनताले युरोप, अमेरिकाहुँदै फ्रान्समै पनि फस्टाएको उग्र राष्ट्रवादको राजनीतिलाई गलत साबित गरेका छन्। फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा ली पेनले ३४ प्रतिशत मत प्राप्त गरिन् भने माक्रोनले ६६ प्रतिशत मत प्राप्त गरे।
नेपाली जनाताका लागी सन्देश के हो?
नेपाल गहिरो संकटको भूमरीमा फसीसकेको छ । देश निर्माणमा लगाउनुपर्ने युवा शक्तिलाई राज्यबाट नै विदेश पलायन हुन बाध्य पारिदै छ। कुनै रहर नभइ आफ्नो र परिवारको पेट पाल्नका लागि नै लाखौ युवा बिदेसिने क्रमलाई हेर्दा कही नेपाल इथियोपिया त हुने हैन भन्ने चिन्ताले मुटु दुख्छ। अझ खाडीको रापमा श्रम बेच्ने युवाहरुलाई बिदेशी भूमीमा यत्र तत्र लथालिङ्ग र चिन्तित अवस्थामा देख्दा मन कटक्क हुन्छ।
नेपालका सासकहरुका गतिबिधिबाट निराश भइ आफ्नो र परिवारको भविस्यप्रती चिन्तित यी यूवा जमातहरु बिदेशी भूमीमा एक लक्ष्यहिन दिशामा आफ्नो यौबन लुटाउदै छन्। अब त अति भएर देशका लागि केही गरौं भन्ने भावना बोक्ने अगुवा युवासमेत बिदेश पलायनको क्रम सुरु भएको छ। विद्यार्थी, पत्रकार, शिक्षक वा ईमान्दार प्रसासक नै किन नहुन वर्तमान सासक र तिनका कृयाकलापबाट वाक्क र दिक्क भएका छन्।
डिभी पर्ने अमेरिका तर्फ लाग्छन्, अन्य क्यानाडा, ब्रिटेनलगायत युरोप तर्फ लाग्छन् भने धेरै खाडीमा रोजगारीका लागि भासिएको अवस्था छ। मनमा देश दुखिरहने अनि आँखामा सदा अमेरिकाको रमझम नाचिरहने बेतिथि भित्र फसेका तथा राजनीतिको स्वाद चाख्न पल्केकाको समूहले खिसी गर्दै भन्छ- हेर त फलानो अमेरिका, युरोप पलायन भयो! फलानो त्यो इज्जत फ्याली खाडीमा किन गएको होला? मौकामा चौका ठोक्ने यस्ता बतासे राष्ट्रवादीहरूको कमी छैन नेपालमा।
जनतालाई प्रत्यक्ष सेवा दिनुपर्ने निजामती क्षेत्र लगायक ऐले आएर न्याय क्षेत्रमा समेत राजनीति थोपर्ने यो मुलुकका सासक बर्ग जनताप्रती अलिकती पनि उत्तरदायी र जिम्मेवार भएको भान कहिले पनि पाउन सकिएन।
जनताको भावना र देशको आवश्यकतालाई मजाकमा उढाउँदै सासक बर्गहरु देश निर्माणमा लाग्नुपर्ने महत्वपूर्ण अवसरमा कुर्सीको म्युजिकल चेयर खेलमा ब्यस्त हुन्छन्। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने झै कोही उत्तर पट्टी ढल्कन्छन त कोही दक्षिण पट्टी।
जनाता सामु झुटो बचन दिनुलाई अब त राजनीतिज्ञहरु आफ्नो बहादुरी नै मान्न थालेका छन्। विश्व किर्तिमान कायम राख्ने गरी सरकार परिवर्तन गर्छन्।
उद्योग ब्यवसाय धरापमा भएको दशक नाघिसक्यो । यत्रतत्र भष्ट्राचार छ। देशले कुनै उल्लेखनीय उत्पादन गरी निर्यात गर्न सकेको छैन। ब्यापारीहरुलाई आफ्नो लगानी उठाउन धौ धौ छ। साना ब्यापारीले तिरेको आयकर, बिदेशबाट समान आयात गर्दाको भन्सार कर र युवाहरुले बिदेशमा श्रम गरी पठाउने रेमिट्यान्स बाहेक नेपालको राजस्वको भरपर्दो श्रोत देखिदैन।
अधिकांश ठूला ब्यापारीहरुबाट जती राज्यलाई तिर्नु पर्ने दाहित्व हो त्यो भन्दा धेरै कम सरकारी राजस्वमा दाखिला हुन्छ।
माथीको प्रसँग बेथितीको एउटा सामान्य उदाहरण मात्र हो । यस्ता बेथितीहरु काठमाडौंको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थलदेखि सुरू भएर यत्र तत्र जहाँ पाईला राख्यो त्यही देख्न र भोग्नुपर्ने नियती छ। घुस खानु र अकुत कमाई गर्नुलाई नेपाली समाजले आफ्नो गौरव महसुस गर्छ। राजनीतिक प्रभावमा कानुनलाई आफ्नो अनुकुल ब्याख्या गरी अधिकारको उल्लङ्घन गर्नुलाई बहादुरी ठानिन्छ। राजनीतीको खोल ओडी ज्यान मार्ने, भष्ट्रचार गर्ने , महिला हिंशा गर्ने, बलात्कार गर्ने जस्ता अपराधीलाई आम माफी दिइन्छ।
यी सासक बर्गमा देश विकासका लागि केही गरौं भन्ने न त भरपर्दो योजना छ न कुनै प्रतिबद्धता नै । एउटा आउँछ अर्कोले तुरुन्त खुट्टा तान्न सुरु गर्छ। पुस्तौसम्म पुग्ने सम्पति जोड्ने एक सूत्रीय योजना बाहेक अन्य सबै नाटक मात्र भान हुन्छ। वर्तमान शासक बर्गका यस्ता बेथीति बिच देश भित्र केही गरौं भन्ने युवा हरु निरिह समान भएका छन्। सबै थकित र भबिश्यप्रति चिन्तित देखिन्छन्। यस्तो बिकराल अवस्थामा जरैदेखि नै मल जल नगरि टुप्पोमा फल लाग्छ भनेर आश गर्नु बेकार र समयको बर्बादी मात्र हो।
अब राजनीतिक र त्यसका सासकहरुले हरेक निरास र उदास युवा पुस्तालाई जवाफ दिनु पर्ने समय आएको छ – कहिले सम्म बिदेशमा श्रम गरेर यी युवा पुस्ताले आफ्नो जवानी लुटाउने?
अबको राजनीति नव विचारक दलहरूको हातमा
जसरी र जुन प्रकृयाले सासक बर्गले देश हाक्दै छन्, यस देश भित्रका जनताले त्यही सिको सिक्दै छन्। के हाम्रा छोरा छोरीलाई यस्तै शिक्षा दिने? यस्तै बिकृती र बिसंगतीको सिको गरे भने देशको भाबी अवस्था कस्तो होला? यस्तै अवस्था रही रहे बर्तमान सासक बर्ग र भाबी सासक बर्गमा केही फरक हुने छैन जुन यस देशका लागी अत्यन्त घातक हुनेछ।
यूवा शक्ति भनेको देश निर्माणका लागि मेरुदन्ड सरह हुन्छन्। अझ यूवाहरु भविश्यका सासक नै हुन्। पछि गएर युवाहरू कोही प्रशासक बन्छन्, कोही नेता बन्छन् त कोही नीति निर्माता बनी देशलाई हाक्ने हैसियत राख्छन्। जबसम्म युवाहरुको शिक्षा र चेतनाको विकासमा लगानी गरिदैन तबसम्म वर्तमान परम्परावादी सोच, विचार र राजनीतिलाई परिवर्तन गरी देश विकास गर्न सम्भब देखिदैन।
नेपाल र नेपाली जनतालाई बर्तमान अवस्थाबाट उन्मुक्ती दिन सक्ने कुनै भिजन नभएका परम्परावादी राजनीतिक दलहरु र तीनका नेताहरुलाई फ्रान्समा जनताले हराए झै नेपालका जनताले पनि हराउनुपर्छ। नयाँ नेपालको खाका कोरेका नव विचारक तथा युवा पुस्तासहितको राजनीतिक दलहरुलाई यस मुलुकको बागडोर जिम्मा लगाउनुको अब कुनै बिकल्प छैन।