मेलम्चीको पानी असोजभित्र काठमाडौँ नआउने

वैशाख २६,काठमाडौं – आगामी असोजसम्म काठमाडौं उपत्यकामा खानेपानी ल्याउने घोषणा गरिएको राष्ट्रिय गौरवको आयोजनामध्येको मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमा सम्पन्न हुन र आगामी असोजसम्म काठमाडौंमा पानी नआउने भएको छ। यो खबर आजको गोरखापत्रमा लक्ष्मण दर्नालले लेखेका छन्।

निर्माण कम्पनीसँग सोही अनुसारको संशोधित पुनः सम्झौता गरिएको सो आयोजनाको असोजसम्म सुरुङ खन्ने कामसमेत सम्पन्न हुन नसक्ने अवस्था देखिएको छ।
असोज महिनामै पानी ल्याउनका लागि हामी प्रयासरत त छौँ तर कामको परिमाण अझै धेरै बाँकी नै छन्, मेलम्ची खानेपानी विकास समितिका उपनिर्देशक रमाकान्त दुवाडीले भने। कुल २७.५ किलोमिटर लम्बाइको सुरुङ खन्ने काम अब ३.५ किमी मात्र बाँकी छ। तोकिएको समय पाँच महिना बाँकी छ। समितिका अनुसार हाल दैनिक १६/१७ मिटरका दरले यो खन्ने गरिएको छ। दैनिक १७ मिटरका दरले खनिए पनि एक महिनामा ५१० मिटर मात्र खनिन्छ। अबको पाँच महिनामा २५ सय ५० मिटर (२.५ कि.मी) मात्र सम्पन्न गर्न सकिन्छ। हालकै अवस्थामा सुरुङ खन्ने काम भयो भने पनि तोकिएको मिति असोज अन्तिमसम्म एक किमी सुरुङ खन्न अझै बाँकी रहने देखिन्छ तर समितिले भने तोकिएको समयमा सम्पन्न गर्ने गरी काम भइरहेको दाबी गरेको छ।
समितिका उपनिर्देशक दुवाडीले भन्छन्, सबै शक्ति लगाएर काम गरिरहेका छौँ, चार ठाउँबाट सुरुङ खन्ने काम पनि भएको छ। आशा गर्ने ठाउँ छ तर भर परिहाल्ने अवस्था भने अझै देखिएको छैन। सुरुङ खन्ने काम सम्पन्न गरिसकेपछि पनि धेरै कामहरू गर्न बाँकी नै छन्। तिमध्ये सुरुङको भुइँमा आरसीसी ढलानका साथै फिनिसिङको काम मुख्य हुन्।
सुरुङको मु्हानको डाइभर्सनको काम पनि अझै सुरु नै भएको छैन। समितिका अनुसार खोलाको पानी मुख्य सुरुङमा प्रवेश गराउन ड्याम बनाउने र पानी प्रवेशका लागि छ मिटर लम्बाइ तथा १.६ मिटर व्यासको फलामे पाइप जडान गर्नुपर्ने हुन्छ। मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आएको पानीलाई सुरुङको अन्तिम बिन्दुबाट पानी प्रशोधन प्रणालीसम्म पुर्‍याउन पनि १.६ मिटर व्यास र २५० मिटर लामो फलामे पाइप जोड्न बाँकी नै रहन्छ।
मेलम्चीदेखि सुन्दरीजलसम्मको २७.५ किमी दूरीको सुरुङमा भेन्टिलेसन प्रणाली जडान गर्ने काम अर्को पनि बाँकी नै छ। दुवाडीका अनुसार २६ किमीको बीचमा तीनवटा भेन्टिलेसन राखिनेछ। जमिनबाट प्वाल पारेर सुरुङसम्म पाइप जडान गर्नुपर्छ। भौगोलिक अवस्था अनुसार ७० मिटरदेखि एक सय २० मिटरसम्मको भर्टिकल ड्रिल गर्नुपर्छ।
खोलाको पानीलाई पर्याप्त रूपमा सुरुङमा प्रवेश गराउन फोकरड्याम निर्माणको काम पनि बाँकी नै छ। यो काम बल्ल सुरु भएको समितिले जनाएको छ। यी कामहरू सम्पन्न गरिसकेपछि मात्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन सकिन्छ। यी सबै काम आगामी पाँच महिनाभित्र सम्पन्न गर्न सकिने अवस्था नै देखिँदैन, समितिका उपनिर्देशक दुवाडीले भने।
२०७३ सालको असोजमै पानी आउने घोषणा गरिएको थियो तर काम सम्पन्न नभएपछि एक वर्ष थप गरिएको हो। अन्तिम पटक थपिएको मितिमा पनि यो सकिने सम्भावना नदेखिएपछि समितिले ढिलाइ हुनुमा विविध कारणहरू रहेको जनाएको छ।