अदालतको आदेशपछि कांग्रेस के गर्छ ?

वैशाख २४ ,काठमाडौं – प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सर्वोच्च अदालतको आदेशपछि मध्यमार्गी बाटोबाट समाधान निकाल्ने पक्षमा कांग्रेस पुगेको छ। निर्वाचनको मुखमा टसल बढाउँदा थप अन्योलता बढ्ने भन्दै बीचको बाटोबाट समाधान निकाल्ने प्रयास भइरहेको नेता रामचन्द्र पौडेलले बताए। यो खबर रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन्।

‘सेफ ल्यान्डिङ गर्ने भनेर लागेको छु। कुराकानी चल्दै छन्। बीचको बाटोबाट समाधान निकाल्दै छौँ,’ पौडेलले भने, ‘टसल बढाउँदा देशलाई फाइदा छैन। आ–आफ्नो ठाउँमा जो–जो रहने हो रहनुपर्छ। सुरक्षित अवतरण गराउनैपर्छ।’
सभापति देउवासहितका नेतासँगको छलफलका क्रममा सुरक्षित अवतरण गर्नुपर्ने विषयमा छलफल भएको पौडेलले बताए। कांग्रेसका पुराना नेता मार्शलजुलुम शाक्यको निधनमा श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय पुगेका वेला नेताहरूबीच सुरक्षित अवतरणमा जानुपर्ने विषयमा छलफल भएको उनले बताए।
महाअभियोगका सम्बन्धमा परेको रिटमा शुक्रबार सुनवाई गर्दै सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन अन्तरिम आदेश दिएको थियो। अदालतको आदेश विषय र कानुनभन्दा पनि भावनामा टेकेर आएको र त्यसले संसदीय सर्वोच्चता नै धरापमा पार्ने प्रयास भएको प्रतिक्रिया कांग्रेसले दिएको थियो।
शक्ति पृथकीकरणको पाटोलाई थप मझबुत गर्दै न्यायपालिका र व्यवस्थापिकाबीच नङ–मासुको जस्तै सम्बन्ध बनाएर जानुपर्नेमा पार्टीभित्र मत बलियो भएको देउवा निकट एक नेताले बताए। ‘अब विषयलाई थप विवादित बनाएर जानुहुँदैन भन्ने मत नै बलियो बनेर गएको छ,’ ति नेताले भने, ‘अब आइतबार नै संसद् बस्ने र महाअभियोग प्रस्ताव टेबल गरेर सहमतिका आधारमा यसलाई फिर्ता लिने विकल्प सबैभन्दा बलियो बनेको छ।’
आइतबार संसद् बस्न नसके अर्को दिन यही प्रक्रियामा महाअभियोग फिर्ता लिने ती नेता बताउँछन्। महाअभियोग फिर्ता लिएपछि अब एक महिना मात्र कार्यकाल बाँकी रहँदा प्रधानन्यायाधीश सुशीला कार्की एक–दुई दिनमै बिदा बस्ने र अहिलेको विवादलाई बल्झिन नदिने विकल्पबारे कांग्रेसमा छलफल चलेको छ।
कांग्रेसले औपचारिक छलफल नगरे पनि पार्टीनिकटका कानुन व्यवसायी र पार्टीकै नेताका सुझाबका आधारमा अब टसल गरेर जान नहुनेमा जोड दिइएको ती नेताले बताए। विवाद बढाउँदै जाँदा निर्वाचनमा अन्योलता देखिने, दलबीच ध्रुवीकरण बढ्ने, आगामी सत्तासमीकरणमा सरकारको नेतृत्व गर्ने मामिलामा आफू पछाडि पर्न सक्ने डरले पनि कांग्रेस सभापति देउवा विवाद बढाउन नहुने पक्षमा पुगेका छन्।
विकल्पमा कार्कीको एक्सन हेर्ने
आइतबार संसद् बैठक नबसी सूचना टाँसेर स्थगित गरिए अर्को दिन महाअभियोग फिर्ता लिने विकल्प भएको ती कांग्रेस नेताले बताए। ‘सर्वोच्चले संवैधानिक सर्वोच्चता स्वीकार गरेन भनेर पार्टीभित्र उत्तिकै असन्तुष्टि पनि छ,’ उनले भने, ‘अब पुनः काममा फर्किएपछि आइतबारबाट प्रधानन्यायाधीशले लिने ‘एक्सन’ले पनि अबको बाटो तय गर्छ।’
प्रधानन्यायाधीशको ‘एक्सन’ हेर्न आइतबार सूचना टाँस गरेर संसद् बैठक स्थगित गर्ने र उनले लिने ‘एक्सन’ पछि अर्को संसद् बैठकबाट अगाडि बढ्ने विकल्प पनि कांग्रेसले लिएको छ। यस विषयमा सत्तारुढ दलसँग पनि आइतबार बिहानसम्म छलफल गरेर निर्णय लिने ती नेताले जानकारी दिए।
सभामुखले संविधानको धारा १०३ ले ‘संसद्लाई आफ्नो कारबाही र निर्णय गर्ने विशेषाधिकार दिएको र अवहेलना गर्नेलाई जेलसमेत पठाउन सक्ने’ अधिकार दिएको केही कानुनी सल्लाहकारले विकल्प दिए पनि यो विकल्पले द्वन्द्व निम्त्याउने बुझाइ कांग्रेसको छ।
प्रधानन्यायाधीश सुशीला कार्कीले यसअघि आइजिपी प्रकरणको मुद्दामा नवराज सिलवाललाई फर्काउने र देउवालाई मानहानि मुद्दामा कारबाही गर्ने चुनौती दिएकाले पनि सत्तारुढ दलहरूमा उनीप्रति संशय छ। शुक्रबार अदालतले भावनामा बगेर सबै मिलेर अघि बढ्नुपर्ने गरी महाअभियोगबारे निर्णय गरेपछि अदालतले पनि सुरक्षित बाटोमा जान चाहेको आँकलन पनि गरिएको छ।