वैशाख १३, काठमाडौँ – संसद बैठक अवरुद्ध नगर्न सत्ता पक्षले गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका नेताहरुले संसदको अवरोध हटाउन एमालेलाई आग्रह गरेपनि एमाले नेताहरुले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसदमा अवरोध जारी राख्ने बताएका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तीन तहकै निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने भएकाले मधेसी मोर्चालाई आफुले सहमतिमा ल्याउन प्रयास गरेको बताउनुभएको थियो । उहाँले संशोधन विधेयक पारित गर्न सघाएर निर्वाचन सफल बनाउन एमाले नेताहरुलाई आग्रह समेत गर्नुभयो । तर एमाले नेताहरुले स्थानीय तहको संख्या पटक–पटक बढाउनुको तार्किक औचित्य खोजेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसमा स्थानीय तहको संख्या बढाउने सरकारको तयारीप्रति आपत्ति जनाउनुभयो । त्यसपछि प्रधानमन्त्री दाहालले सबै पक्षको सहभागितामा निर्वाचन सम्पन्न गराउन स्थानीय तहको संख्या थप गर्न लागेको बताउनुभएको थियो । प्रधानमन्त्रीको जवाफपछि एमाले अध्यक्ष ओलीले मधेसी मोर्चाले मात्रै निर्वाचन बहिष्कार नगरेको भन्दै सरकारले गल्ती गरिरहेको टिप्पणी गर्नुभएको थियो । उहाँले दुई चरणमा बजेट ल्याउने सरकारको तयारीप्रति पनि आपत्ति जनाउनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलगायत पाँच दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । यसअघि हिजो पनि प्रमुख पाँच दलको बैठक बसेको थियो । तर सो बैठकमा सहमति हुन नसकेपछि प्रधानमन्त्री दाहालको आह्वानमा आज पुनः बैठक बसेको हो ।