काँग्रेसले आगामी १० वर्षभित्र मध्यम आययुक्त राष्ट्र बनाउने

वैशाख १२, काठमाडौँ । नेपाली काँग्रेसले मुलुकलाई आगामी १० वर्षभित्र एउटा मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने ध्येयका साथ पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । मध्यम आययुक्त गतिशील राष्ट्र बनाउन कम्तीमा पनि एक दशकसम्म वार्षिक सातदेखि १० प्रतिशतसम्मको उच्च आर्थिक वृद्धि दर निरन्तर हासिल गर्दै हरेक वर्ष अर्थतन्त्रले तीनदेखि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्र्ने काँग्रेसले जनाएको छ ।
यो उद्देश्य हासिल गर्न अभूतपूर्व परिमाणमा नेपाली काँग्रेसले स्वदेशी र विदेशी लगानीको परिचालन गर्नेछ । यो लगानी हाम्रा सम्भावनाका क्षेत्र ऊर्जा, पर्यटन र कृषिका साथै उत्पादनमूलक उद्योग र नयाँ प्रविधि एवम् व्यापारयोग्य सेवामा आकर्षित गरिने घोषणापत्रमा उल्लेख छ ।
काँग्रेस यो घोषणापत्रमार्फत नयाँ संविधानका आधारभूत मान्यताको पालना र कार्यान्वयनप्रति पूर्ण प्रतिबद्ध रहेको घोषणा दृढतापूर्वक गर्न चाहन्छ भनिएको छ । यो प्रतिबद्धता पूरा गर्न नेपाली काँग्रेसले आफ्नो सम्पूर्ण राजनीतिक शक्ति, सङ्गठन र संयन्त्रलाई परिचालित गर्ने जनाएको छ । घोषणापत्र प्रतिबद्धतापत्र मात्र नभएर कार्यान्वयनको सच्चा सङ्कल्प भनेको छ ।
स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय गतिविधिको विस्तारका लागि नेपाली काँग्रेसले विशेष जोड दिनेछ । उन्नत बीउ, कर्जा र बीमा, वैकल्पिक ऊर्जा, साना जलविद्युत् र सिँचाइका आयोजनामार्फत उत्पादकत्व बढाउनु काँग्रेसको लक्ष्य हुनेछ घोषणापत्रमा उख्लेख छ ।