बरुण नदीमा बाढी आएपछि अरुण नदी थुनियो

वैशाख ८, संखुवासभा । बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ । नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेको छ ।
नदी थुनिएपछि कपासे, भोटखोला गाउँपालिका ४ र ५ नं वडा, तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन् । ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्था छ । बरुण नदी अरुण नदीमा आएर मिसिन्छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिले सो क्षेत्रमा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लामै रहनुभएका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नदी थुनिएको क्षेत्रतर्फ जानुभएको छ ।
यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा थुनिएको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री निधिको निर्देशनपछि गृह मन्त्रालयबाट प्राविधिक टोली हेलिकोप्टरबाट सङ्खुवासभा जाने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।