सरकार र मोर्चाबिच वार्ता

बैशाख ८, काठमाडौँ । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता भएको छ । मोर्चामा आवद्ध ६ राजनीतिक दलबीच पार्टी एकता घोषणा भएको भोलिपल्ट सरकारले मोर्चासँग वार्ता थालेको हो । ७ दलीय मोर्चामा अब २ दल मात्रै भएको छ । एकतापछिको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सबै सदस्य वार्तामा सहभागी हुनुहुन्छ । मोर्चाकातर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, अशोक राई, राजेन्द्र श्रेष्ठ, हृदयेश त्रिपाठी लगायत उपस्थित हुनुुहुन्छ ।
सत्तारुढ दलको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.सशांक कोइराला, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेता बर्षमान पुन लगायत सहभागी हुनुहुन्छ ।
मधेसवादी ६ दलबीच पार्टी एकता भए लगत्तै निर्वाचनको वातावरण बनेको भन्दै प्रधानमन्त्री दाहालले मोर्चासँग सहमतिको पहल थाल्नु भएको हो । मोर्चाका ६ पार्टी एक हुनुका साथै मोर्चाको नेतृत्व गरिरहेको संघीय समाजवादी पार्टी नयाँ शक्ति पार्टीमा एकता प्रक्रियामा जाने तयारी गरेपछि मोर्चामा फुट आउने सम्भावना पनि उत्तिकै छ । तर मोर्चा कसरी अगाडि बढ्छ भन्नेबारे भने निर्णय भइनसकेको नेताहरुले बताएका छन् ।
मधेसी मोर्चाले सीमाकंन हेरफेर नगरी सहमति हुन नसक्ने बताउँदै आएको छ भने सरकारले अधिकार सम्पन्न संघीय आयोग गठन गर्ने र तीन विषय भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा संविधान संशोधन गरेर जाने तयारी गरेको छ । बुधवार बसेको पाँच दलको बैठकले मधेसी मोर्चा निर्वाचनमा सहभागी भए दुई चरणमा निर्वाचन गर्न सकिने निर्णय गरेको थियो ।