बैशाख ३१ मै निर्वाचन गर्न पाँच दल सहमत

बैशाख ६, काठमाडौं । प्रमुख पाँच दल स्थानीय तहको निर्वाचन बैशाख ३१ मै गर्न सहमत भएका छन् । मधेसी मोर्चाले संविधान संशोधन अस्वीकार गर्दै स्थानीय तहको चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री प्रचण्डले पाँच दलको बैठक बोलाएको बैठकमा दलहरु तोकिएकै मितिमा निर्वाचन गर्न सहमत भएका हुन् । मधेसी मोर्चा चुनावमा आए दुई चरणमा गर्ने वा एकै चरणमा भन्नेमा भने फरक मत देखिएको छ ।
बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुभएको भने उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सुरक्षा तयारी र सहमति नभई चुनावमा जाँदाका सम्भावित चुनौती औल्याउनुभयो।
प्रधानमन्त्री प्रचण्डले निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै बैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने बताउनुभयो । तर, मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिन्छ भन्दै दलहरुको राय मागेका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले बैशाख ३१ मा एकै चरणमा चुनाव गर्नुपर्ने मत राखेका छन् ।