नयाँ शक्ति पार्टीसहित ६८ दल अनसनमा

बैशाख २, काठमाडौँ । संसदमा प्रतिनिधीत्व गर्ने दललाई मात्रै चुनाव चिन्ह प्रदान गरेको विरोधमा नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले शनिबारबाट काठमाडौंमा अनसन सुरु गरेका छन् ।
संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिन्न प्रदान गर्ने कानुनी व्यवस्था खारेज गर्न माग गर्दै उनीहरुले रत्नपार्कको शान्ति वाटिकामा ६ दिने अनसन सुरु गरेका हुन् ।
अनसनको शुभारम्भ गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्न संसद बाहिरका दललाई नदिने तीन ठूला दलको निर्णय तर्कसंगत नभएको बताउनुभयो ।
यो निर्णय लोकतन्त्र र संविधान प्रतिकूल रहेको भन्दै उहाले दलीय पहिचान नै मेटाउने काममा ठूला दल लागि परेको आरोप लगाउनुभयो । ६८ दलले दलीय चुनाव चिन्न नपाएसम्म आन्दोलनलाई निरन्तरता दिइरहने जनाएका छन् । उनीहरुले दलीय चुनाव चिन्हको माग गर्दै पहिलो चरणमा देशभरका निर्वाचन कार्यालय घेराउ गरेका थिए ।