बैशाख २, कञ्चनपुर । कञ्चनपुरमा विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत चारवटा सडक निर्माण भइरहेका छन् । भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, पुनर्बास नगरपालिका, लालझाडी गाउँपालिका र महाकाली नगरपालिकामा सडक स्तरोन्नति गर्ने र ओटासिल प्रविधि मार्फत कालोपत्रे गर्ने कार्यलाई दू्रतगतिमा अगाडि बढाइएको हो । भीमदत्तनगरको रेडक्रस, बागफाँटा, सुन्दरपुर र सिसैयासम्मको सडकको चार दशमलव २५ किलोमिटरमा ओटासिल प्रविधि मार्फत कालोपत्रे गरिएको जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्माले जानकारी दिनुभयो ।
बाँकी सडकमा माटो, ग्राभेल राखेर स्तरोन्नतिको गरिएको छ । पुनर्बास नगरपालिकाको परासन, त्रिभुवनबस्ती, लक्ष्मीपुर, बेलौरी २५ दशमलब ७ किलोमिटर सडकलाई दुई चरणमा सम्पन्न गर्नेगरी कार्य अगाडि बढाइएको छ । यस्तै बेदकोट नगरपालिकाको पूर्व–पश्चिम राजमार्गदेखि गाउँजी वृद्धाश्रमसम्मको ६ किलोमिटर सडकमा ग्राभेल राखी स्तरोन्नतिको गरिएको छ । वाणि, देखतभूली, कञ्ज, शङ्करपुर, पचगडियासम्मको सडक निर्माणका लागि पनि डिपिआर तयार गरिएको जिल्ला प्राविधिक कार्यलय कञ्चनपुरले जनाएको छ ।