मोर्चालाई भारतको सुझाव – चुनावमा जाऊ

 
वैशाख २, काठमाडौं – सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतले दबाब दिन थालेको छ । सरकारले दोस्रोपटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जानकारी दियो ।

शुक्रबार नयाँ वर्षको शुभकामना दिँदै भारतीय राजदूत मञ्जिभसिंह पुरीले मधेसी मोर्चाका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । मोर्चाका नेताहरुसँग भएको टेलिफोन संवादमा उनले निर्वाचनमा सहभागी हुन आग्रह गरेको आजको नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।
यसअघि पनि मधेसी मोर्चाका नेताहरुलाई भारतीय राजदूत पुरीले भेटघाटका क्रममा निर्वाचनमा भाग लिन आग्रह गर्दै आएका थिए ।