सुशील देवकोटा
आपसमा कुरा नमिल्दा भनाभन हुनु, विवाद हुनु र झगडा हुनु सामान्य कुरा हो। झगडा जसको जोसँग र जहाँ पनि हुनसक्छ। घरपरिवारमा झगडा हुनसक्छ, साथीभाइसँग झगडा हुनसक्छ, छिमेकीसँग झगडा हुनसक्छ, एउटा टोलको अर्को टोलसँग, एउटा जिल्लाको अर्को जिल्लासँग र एउटा देशको अर्को देशसँग समेत झगडा हुनसक्छ। भनाभन र विवादसम्म मात्रै सीमित भयो भने त्यसलाई सामान्य झगडाको रुपमा लिइन्छ भने कहिलेकाहीँ सामान्य कुरामा शुरु भएको विवादले यस्तो उग्र रुप लिन्छ कि त्यसले जनधनको समेत क्षति गर्छ र त्यो असामान्य घटना भैदिन्छ। सामान्य होस् वा असामान्य, यसरी झगडा गर्नेहरुले हत्तपत्त आफ्नो दोषचाहिँ देख्दैनन्। झगडा गर्नेहरुसँग सोद्धा प्रायः उनीहरुले अर्को पक्षको नै दोष देखाउँछन् र आफ्नो कुनै गल्ती नभएको नै दाबी गर्छन्।
हालै सप्तरीमा जुन घटना भयो, त्यो असामान्य घटना हो। शुरुवात सामान्य कुराबाट भएको हो। एउटा लोकतान्त्रिक देशमा एउटा राजनीतिक पार्टीले आफ्नै देशभित्रको एउटा स्थानमा आमसभा गर्न खाजेको हो। र, अर्को विरोधी पार्टीले त्यो आमसभाको विरोध गर्न खोजेको हो। लोकतन्त्रमा आफ्नो कुरा राख्न पाइन्छ, आफ्नो कुरा सुनाउने अधिकार हुन्छ भने कुनै पक्षको कुरा कसैलाई चित्त बुझ्दैन भने सुन्दिन भन्ने अधिकार पनि हुन्छ। सुनाउनेले जबरजस्ती सुनाउन हुँदैन र नसुन्नेले आफ्नो सुन्न नचाहने अधिकारको उपभोग गर्दा सुन्न चाहनेको अधिकार कुण्ठित गर्नुहुँदैन। सप्तरीमा एमालेले आमसभा गर्न खोज्यो र मधेसी मोर्चाले त्यसलाई रोक्न खोज्यो। कुरा यत्ति हो, यत्ति थियो र यत्ति नै हुनुपथ्र्यो तर त्यसो भएन। लोकतान्त्रिक देशमा हुने यो सामान्य प्रक्रियाले त्यहाँ उग्ररुप लियो र जनधनको समेत क्षति भयो। त्यो असामान्य र विवादित घटना बन्न पुग्यो।
एकातिर नहुनुपर्ने घटना भयो भने अर्कोतिर शुरु भयो दोषारोपणको शृङ्खला। एमाले समर्थकहरुले देशभित्र आमसभा गर्न पाउने आफ्नो अधिकार हो भन्दै आफ्नो त्यो अधिकारको हनन गर्न आउनेलाई प्रतिकार गर्न किन नपाउने भन्दै जुन घटना भयो, त्यसमा आफूहरुको कुनै गल्ती नभएको दाबी गर्दै छन् भने गर्न लागिएको आमसभाको शान्तिपूर्ण विरोध गर्न पाउनु आफ्नो अधिकार हो र शान्तिपूर्ण विरोध गर्दा गोली चलाइन्छ भने गल्ती कसको भनेर प्रतिप्रश्न गर्दै छन् मधेसी मोर्चाका समर्थकहरु। आरोप–प्रत्यारोप आफ्नो ठाउँमा छ तर एउटा कुरा त पक्का हो, जे भयो त्यो ज्यादै नराम्रो भयो। फेरि केही नेपालीको ज्यान अनाहकमा गयो। फेरि केही नेपालीले अकालमा ज्यान गुमाए। फेरि हाम्रा दाजुभाइ मारिए। हरेक यस्तो घटनापछि उठ्ने प्रश्न यहाँ पनि उठेको छ– गल्ती कसको ?
कुरो स्पष्ट छ, दोष उसको हो, गल्ती उसको हो, जसले देशभित्र जातीयताको बीउ रोप्यो, देशमा भएको सामाजिक सद्भावमा विष घोल्यो, धर्मको नाममा वैमनस्यता पैmलाउने काम गर्यो, जसले भूगोलको नाममा देश र जनतालाई बाँड्नुपर्ने कुरा गरेर जनता भाँड्ने काम गर्यो। सत्ता प्राप्तिको स्वार्थ पूरा गर्न जनतालाई विभाजित गर्नेहरुको कारणले देश अशान्त भएको हो। देशको आन्तरिक समस्या समाधान गर्नसमेत विदेशी गुहार्ने परम्पराको शुरुवातले देश लथालिंग भएको हो। विदेशीको अगाडि घुँडा टेक्दै लम्पसार परेर उनीहरुलाई प्रभु मानेर देशभित्र खेल्न दिँदाको परिणाम हो सप्तरी र टीकापुर काण्ड।
हाम्रो देशभित्र जात, धर्म, भाषा र भूगोलको नाममा घृणाको विष पैmलाउनेमा सबैभन्दा प्रमुख मान्छे उनी नै हुन्, जसले अहिले हाम्रो देशको प्रधानमन्त्रीको कुर्सीको बेइज्जत गर्दै छन्। फगत एउटा पदको लागि उनले नेपाली समाजमा यो घृणाको विष मात्र फैलाएनन्, हजारौं निर्दोष जनताको रगतको होलीसमेत खेले। मारकाट मच्चाए, अशान्ति फैलाए। यो कुनै पनि स्वाभिमानी नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने कालो इतिहास हो।
कहिलेसम्म यो मारकाट ? कहिलेसम्म यो अशान्ति ? कुन बाटो हिँड्दै छौं हामी ? कता जाँदैछौं ? आज मधेसमा मधेसी मोर्चाबाहेकको पार्टीको मान्छेले प्रवेश गर्न खोज्यो भनेर रोक्ने अनि भोलि फेरि पहाडमा मधेसी मोर्चाले कार्यक्रम गर्दा अन्य पार्टीकाले रोक्ने। के यही हो लोकतन्त्र ? नेपालको मूल कानुन (नेपालको संविधान) ले प्रत्येक नेपालीलाई दिएको अधिकारको ठाडो उल्लंघन हो यो। देश सम्पूर्णरुपमा संघीयतामा प्रवेश नगर्दै देशको यो हालत छ भने सोचौं जब भोलि संघीयता लागू हुन्छ त्यति बेला स्थिति के होला ? के यही निषेधको राजनीति गर्नको लागि हो लोकतन्त्र ? के यसै गरी पटक–पटक निर्दोष नेपाली मार्नको लागि हो संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र ? कसले मागेको थियो संघीयता ? कसलाई चाहिएको थियो धर्मनिरपेक्षता र गणतन्त्र ? ०६२⁄६३ को आन्दोलनमा त यी माग कतै सुनिएका थिएनन्। विश्वभरि सुन्दर शान्त भनेर चिनिने हाम्रो देशलाई आजको यो अवस्थामा पुर्याउने यी कुराहरु किन जबर्जस्ती लादिएको छ हाम्रो टाउकोमा ? नेपाल यस्तो त थिएन। हिमाल, पहाड र तराईको नाममा यस्तो घृणा अनि यस्तो वैमनस्यता त थिएन। यस्ता कुराहरु कहाँबाट आए ? किन आए ? कसलाई खुशी पार्न आए ? आज पनि बहुसंख्यक नेपालीको मनमा यही प्रश्न छ।
जवाफ त्यति गाह्रो छैन यी प्रश्नहरुको। किनकि जवाफ सहज छ, यसको सहज र सरल जवाफ हो– जनमतसंग्रह। हेरौं न त जनमतसंग्रह गरेर जनताले के चाहेका छन् ? गरौं जनमतसंग्रह गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बारेमा। आपूmलाई जनप्रतिनिधि भन्नेहरुले जनतामाझ जान किन डराउने ? लोकतान्त्रिक देशमा विवादित विषयमा निर्णय गर्ने सबैभन्दा उत्तम उपाय भनेकै जनमतसंग्रह त हो नि। यदि जनमतसंग्रहबाट पनि जनताले आफ्नो यही चाहना व्यक्त गरे भने भोलि देशमा आउन सक्ने हरेक समस्यामा जनताले आफ्नो पनि निर्णय सम्झिनेछन् र यदि जनादेशले यो नचाहेको पाइयो भने जबर्जस्ती लादिएका यी कुराहरु अविलम्ब खारेज गर्नु नै सबैको लागि राम्रो हुनेछ।