स्ववियु चुनाव तोकिएकै मितिमा – प्रमुख दल

फागुन ५,काठमाडौं – तीन ठूला दल त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनाव निर्धारित समयमै गर्ने पक्षमा उभिएका छन् । त्रिवि सभाले घोषणा गरेअनुसार १४ फागुनमा मतदान गर्ने कार्यक्रम सम्पन्न गर्न प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता सहमत भएका हुन् ।अाजकाे नयाँपत्रिकामा खबर छापिएकाे छ ।

स्रोतका अनुसार स्ववियु निर्वाचन नभएमा आगामी चुनावसमेत बिथोलिन सक्ने भन्दै शीर्ष नेताहरूले समयमै चुनाव गर्नुपर्ने धारणा राखेका हुन् । स्ववियु चुनाव गर्न प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी ओलीलगायतको बैठकले तोकिएकै समयमा चुनाव गर्ने सहमति गरेका हुन् । बैठकमा ठूला संगठनका अध्यक्ष तथा त्रिवि पदाधिकारीसमेत उपस्थित थिए ।
बैठकमा एमाले अध्यक्ष ओलीले स्ववियु चुनाव सारेमा २१ फागुनदेखि हुने मेची–महाकाली अभियान प्रभावित हुने भन्दै तोकिएकै समयमा चुनाव गर्नुपर्ने दबाब दिएका थिए ।
छलफलमा त्रिविका पदाधिकारीले चुनावमा सरकारको सपोर्ट नभएको र चुनावमा जाने भनेका संगठनले समेत नचाहेका हुन् कि भन्ने प्रश्न गरेका थिए । प्रधानमन्त्रीले चुनाव गराउन जस्तोसुकै सहयोग गर्न पनि सरकार तयार रहेको बताएका थिए ।
प्राध्यापक त्रासमा
तीन दलका शीर्ष नेताले तोकिएकै समयमा स्ववियु चुनाव गराउने सहमति गरे पनि उपत्यकाका क्याम्पस प्रमुखहरू भने त्रासमा रहेका छन् । बुधबार त्रिवि पदाधिकारीस“ग भएको छलफलमा केही दिन सारेर सबैलाई समेटेर चुनाव गर्दा राम्रो हुने सुझाब दिएका थिए । त्रिविले १४ फागुनमा स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरे पनि त्यसअनुसार कार्यक्रम हुन सकेको छैन ।
सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले स्ववियु चुनावमा सबै किसिमका सुरक्षाको व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
स्ववियु चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयमा छलफल गर्न बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रार र उपत्यकाका क्याम्पस प्रमुखहरूको उपस्थिति थियो ।
छलफलमा सहभागी केही क्याम्पस प्रमुखले सुरक्षा चुनौती रहेको भन्दै केही दिन पर सारेर जानुपर्ने सुझाब राखेका थिए । तर, गृहमन्त्री निधिले भने तोकिएको चुनाव सार्नु राजनीतिक र शैक्षिक हिसाबले पनि उपयुक्त नहुने बताए ।

– See more at: http://motivatenews.com/archives/22434#sthash.zeqjHVDz.dpuf