पौष २१, काठमाडौं— उत्तरी छिमेकी चीनसँग अबको पाँच वर्षमा चार नाकाबाट सडक सम्बन्ध जोडिने भएको छ।
सरकारले किमाथांका, रसुवागढी, कोरला र हिल्सा नाकाबाट चीनसँग जोडिने सडक निर्माण गरिरहेको छ। सडक विभागका अनुसार यी सडक पाँच वर्षभित्र दुई लेनको बनाइने छ। विभागले चिनियाँ नाकासम्म सडक पुर्याउनुका साथै ती नाकालाई दक्षिणी भारतीय नाकासँग जोड्न सडकको ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने र विस्तारको काम पनि अघि बढाएको छ।
विभागको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग आयोजना निर्देशनालयका निर्देशक गोपाल सिग्देलका अनुसार चारमध्ये तीन नाकामा आगामी दुई वर्षभित्र सडक पुग्नेछ। हिल्सा नाका केही महिनामै सिमकोटसम्म जोडिए पनि त्यो कर्णाली राजमार्गमा मिसिन भने पाँच वर्ष लाग्नेछ।
चार नाकामध्ये रसुवागढीमा अहिले पनि यातायात सञ्चालनमा छ। गल्छी–बेत्रावती–धुन्चे–स्याफ्रुबेशी हुँदै रसुवागढी रुटमा सवारी चलिरहे पनि बेत्रावती–धुन्चे खण्ड दुई लेन बनाउनभन्दा बेत्रावती–मैलुङ–स्याफ्रुबेशी सडक बनाउन उपयुक्त हुने ठानेर नयाँ सडकको ट्रयाक खोल्ने काम भइरहेको छ।
मैलुङदेखि स्याफ्रुबेशीसम्मको १६ किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ। नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख सहायक रथी उद्धव बिष्टका अनुसार सेनाले ५.५ किलोमिटर ट्रयाक खोलिसकेको छ भने बाँकी १०.५ किलोमिटर ट्रयाक एक वर्षभित्र खोलिसक्ने छ।
पासाङ ल्हामु राजमार्गको बेत्रावती–धुन्चे–स्याफ्रुबेशी सडक ५४ किलोमिटर लामो छ। बेत्रावतीदेखि धुन्चेको उकालो र धुन्चेदेखि स्याफ्रुबेशीसम्मको ओरालोमा ३५ वटा घुम्ती छन्। राम्चे र मूलखर्कमा जाने पहिरोले यो बाटो बेलाबेला अवरोध हुने गर्छ। नयाँ बन्ने बेत्रावती–मैलुङ–स्याफ्रुबेशी सडक ३१ किलोमिटरको हुनेछ।
सिग्देलका अनुसार गत कात्तिकमा गल्छी–बेत्रावती (४६ किलोमिटर) दुई वर्षभित्र दुई लेनको बनाइसक्ने गरी ३ अर्बमा ठेक्का भइसकेको छ।
स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको १६ किलोमिटरमा चीन सरकारले एक लेन बाटो ग्राभेल बनाएको छ। त्यो बाटो दुई लेनको बनाउन चिनियाँ पक्षले सर्भे पनि गरिसकेको छ। बाटो चिनियाँ पक्षले आफ्नै लगानीमा दुई लेनको बनाउने बताएको छ।
मैलुङ–स्याफ्रुबेशी बाटो बन्यो भने यो काठमाडौंसँग चिनियाँ सीमा जोड्ने सबैभन्दा छोटो बाटो हुनेछ। यो बाटोलाई चितवनको ठोरी नाकामा जोड्ने सरकारी योजना छ।
पूर्वी नेपालसँग चीन जोड्ने नाका किमाथांकालाई संखुवासभाको सदरमुकाम खाँदबारीसँग जोड्न सडक निर्माण भइरहेको छ। १६२ किमी लामो यो सडक बनाउन विभागले दुवैतिरबाट ट्रयाक खोल्ने काम गरिरहेको छ।
‘हामीले किमाथांकाबाट दक्षिणतिर १५ किलोमिटर र खाँदबारीबाट उत्तरतिर ८० किलोमिटर ट्रयाक खोलिसकेका छौं,’ सिग्देलले भने, ‘बाँकी ६७ किलोमिटर ट्रयाक खोल्न चार ठाउँबाट काम थालेका छौं।’ दुई वर्षभित्र ट्रयाक खोलिसक्ने उनले बताए।
चिनियाँ पक्षले किमाथांकासम्म नै पक्की सडक पु¥याइसकेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमाणताका किमाथांका–खाँदबारी–धनकुटा सडक विस्तार गर्न चीन सरकार सहमत भएको थियो। त्यसैअनुसार धनकुटाको हिलेदेखि खाँदबारीसम्मको ७६ किलोमिटर सडक दुई लेनको बनाउन विस्तृत अध्ययन भइरहेको छ। किमाथांकाको नजिक चिनियाँ बजार रिउ पर्छ। किमाथांका नाका सञ्चालनमा आए पूर्वी नेपालमा चिनियाँ सामान ल्याउन काठमाडौंको बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ।
खाँदबारी–किमाथांका जोडियो भने विराटनगरको रानी र किमाथांका पनि जोडिने छ।
हिलेदेखि इटहरीसम्म अहिले दुई लेनको सडक छ। विभागले दुई वर्षभित्र विराटनगर–इटहरी सडकलाई चार लेनको बनाउने बताएको छ।
पश्चिम नेपाललाई चीनसँग जोड्ने केरला नाकासम्म पनि दुई वर्षभित्र जोमसोमबाट सडक सञ्जाल पुर्याउने काम भइरहेको छ। विभागले उक्त नाकालाई भैरहवासँग जोड्ने कालीगण्डकी करिडोरको निर्माण पनि गरिरहेको छ। जोमसोम–कोरला (१०० किमि) खण्ड दुई लेन ग्राभेल गर्न ठेक्का भइसकेको छ। साढे २ अर्ब रुपैयाँ लाग्ने उक्त बाटोमा दुई वर्षपछि पुल लगायत अरु संरचना पनि बन्नेछन्।
कोरलामा चिनियाँ पक्षले नाका बनाउन कुनै संरचना निर्माण गरेको छैन। त्यहाँदेखि दुई किलोमिटर पर चिनियाँ जनमुक्ति सेनाको क्याम्प मात्र राखेको छ भने करिब ४५ किलोमिटरको दुरीमा राष्ट्रिय राजमार्ग पुग्न सकिन्छ।
खाम्पा विद्रोह भएको ठाउँ भएकाले पनि चिनियाँ पक्ष कोरला नाकालाई सञ्चालन गर्न हिच्किचाइरहेको छ। नेपाली पक्षले भने उक्त नाकामा पनि उत्तर–दक्षिण जोड्ने गरी पूर्वाधार तयारी थालेको छ। सिग्देलका अनुसार बेनी– जोमसोम ७८ किलोमिटर सडक दुई लेनको बनाउन र कालोपत्रे गर्न अहिले डिपिआर भएर स्टिमेट स्वीकृतिको क्रममा छ। म्याग्दीको मालढुंगाबाट राम्दी जोड्न कालीगण्डकीको दुवै किनारमा सडक बनिरहेको छ। तीन वर्षभित्र मालढुंगा–रिम्दीको एकतिरको बाटो कालोपत्रे गर्ने विभागको योजना छ। राम्दी–बुटवल सडक पनि दुई लेनको बनाउन अध्ययन भइरहेको छ। भैरहवा– बुटवल (२४ किमी) सडक छ लेनको बनाउने काम पनि विभागले गरिरहेको छ।
विभागले सडक सञ्जालले जोड्ने अर्को नाका हिल्सा हो। हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर सडक यही वर्षभित्र बनाइ सक्ने विभागले जनाएको छ। हिल्साको कर्णाली नदीमा बनेको पुलको प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ५ गते उद्घाटन गरिसकेका छन्। ‘अब तुमकोटमा बेलिब्रिज बनाएर र तीन किलोमिटर ट्रयाक खोलेपछि सिमकोट–हिल्सामा दोहोरो गाडी चल्न सक्छन्,’ सिग्देलले भने, ‘यही आर्थिक वर्षभित्र हिल्सा–सिमकोट सडकमा दोहोरो गाडी चल्ने बनाउँछौं।’
चिनियाँ पक्षले हिल्सा नाका सञ्चालन गर्न सुख्खा बन्दरगाह, मितेरी पुल र अध्यागमन कार्यालय बनाउन थालेको छ। हिल्सादेखि २० किलोमिटर पर ताक्लाकोट पर्छ। ताक्लाकोटलाई चिनियाँ पक्षले आधुनिक सहरका रुपमा विस्तार गरिरहेको छ। हिल्सादेखि ८० किलोमिटरमा मानसरोवर पर्छ।
सिमकोटदेखि कालिकोटको खुलालुसम्मको १९६ किलोमिटर सडकका लागि अहिले ट्रयाक खोल्ने काम भइरहेको छ। त्यसमध्ये ४५ किलोमिटर ट्रयाक विभागले खोलिसकेको छ। सिमकोटदेखि दक्षिणतिर ५० किलोमिटर ट्रयाक पनि विभागले खोल्ने गरी डिपिआर बनिरहेको छ। नेपाली सेनाले बाँकी रहेको ट्रयाक खोल्ने काम गरिरहेको छ। खुलालुमा कर्णाली राजमार्ग सिमकोटबाट आउने सडकसँग जोडिन्छ। ‘सेनाले चार वर्षभित्र ट्रयाक खोलिसक्छौं भनेको छ,’ सिग्देलले भने, ‘त्यसपछि हामी त्यसलाई वर्षदिनमा कालोपत्रे गरिसक्छौं।’
विभागले अन्य नौ वटा नाका पनि सडकले जोड्ने गरी काम गरिरहेको छ। ताप्लेजुङ–ओलाङचुंगगोला (९५किमी), लामाबगर–लाप्ची (२५ किमी), बेनीघाट– लार्केभञ्ज्याङ (१६२ किमी), गुम्दा–सिर्दीवास (११५ किमी), मारिम–दुनै (१३५ किमी), गमगढी–लांगा (११० किमी), चैनपुर–उरई (११५ किमी) र दार्चुला– टिंकर (११२ किमी) सडकमा पनि ट्रयाक खोल्ने काम भइरहेको छ। तर यी सबै नाकामा समुद्र सतहदेखि ५००० मिटरभन्दा बढीको उचाइमा रहेकाले हिउँदमा अत्याधिक हिमपात हुन्छ।
‘यी चारबाहेक अरु नाकामा १२ महिना सडक सञ्चालन गर्न कठिन हुन्छ,’ सिग्देलले भने, ‘हामी सडक बनाउने काम भने गरिरहेका छौं।’