पुस ९, काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता नलिए देशव्यापी कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
लहानमा आयोजित एमाले प्रदेश नम्बर २ को प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आन्दोलनको तयारी गर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् । उनले आउँदो २०७४ माघ ७ गतेभित्र तीनै तहको चुनाव गराउनुपर्ने बाध्यता रहेको बताउँदै चुनावका लागि राष्ट्रिय सहमति बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘मधेशी मोर्चाको हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने माग पूरा गर्न सकिँदैन ।’ मधेशी मोर्चाले राखेका सबै माग जायज नरहेको उनले दाबीसमेत गरे ।
सोही कार्यक्रममा बोल्दै वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा दर्ता गरिएको संशोधनको प्रस्तावमा कुनै पनि हालतमा सहमति नजनाउने अडान लिएका छन् ।
एमाले नेता खनालद्वारा संशोधन प्रस्ताव फिर्ता नलिए कडा आन्दोलनको चेतावनी
